धरान  / लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी–१ को १ र २ प्रदेश सभा सांसद उम्मेदवारहरुले शुक्रवार प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । 

प्रतिनिधी सभा सदस्य उम्मेदवार मुक्सामहाङ मेन्याङबो, प्रदेश सभा १ का उम्मेदवार उमेश थापा र २ का उम्मेदवार रेवतीरमण राईले प्रदेश १ को नामकरणलाई पहिलो चुनावी एजेण्डा बनाउनु भएको छ । काँग्रेस, माओवादी, नेकपा एसद्वारा संयुक्त रूपमा जारी संकल्पपत्रको पहिलो बुँदामा प्रदेशको नामकरणलाई प्राथमिकतामा राखिएको छ । 

 प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा काँग्रेस प्रदेश महामन्त्री समेत रहेका सुनसरी–१ (१) प्रत्याशी उमेश थापाले गठबन्धन विजयी भएको अवस्थामा नामकरणलाई प्रदेश सभाको पहिलो एजेण्डा बनाउने बताउनु भयो । 

गठबन्धनका सुनसरी–१ (२) का प्रत्याशी राईले जनभावना अनुसार पहिचानकै आधारमा प्रदेशका नामकरण गरिने बताउनु भएको छ ।  जारी संकल्पपत्रको पहिलो बुँदामा नामकरणबारे भनिएको छ ‘ऐतिहासिक पृष्ठभूमि र सभ्यता सँग सम्बन्धित पहिचानका आधारमा प्रदेश १ को नामाङ्कन गरिने छ ।’

‘सुनसरी १ नं। क्षेत्र, केन्द्र र प्रदेशबाट सधैँ पहुँच बाहिर रहँदै आएको छ । नेतृत्व तहमा पुगेकाहरूले प्रदेश १ को नामाङ्कन गर्न सकेनन् नै यस क्षेत्रलाई केन्द्र र प्रदेश सँग जोड्न नसकेको छर्लङ्गै छ ।’–प्रदेशको नामकरण हुन नसक्नुको कारण उल्लेख गर्दै भनिएको छ ।  हिजोको अवस्थामा रहेको त्यो स्थितिलाई तिन दलीय गठबन्धनले नयाँ परिस्थितिमा दिर्घकालिन र रणनीतिक योजनाहरूलाई नयाँ ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता संकल्पपत्रमा उल्लेख गरिएको छ ।

गठबन्धनका सुनसरी–१ सङ्घीय प्रतिनिधि सभा सांसदका प्रत्याशी मुक्सामहाङ मेन्याङबोले प्रदेश १ को एक कार्यकालले  नामकरण नगरी खेर जानुमा केन्द्रीय हस्तक्षेप पनि उत्तिकै जिम्मेवार रहको बताउनु भएको छ । प्रदेशको जनभावनामा प्रदेश सभामा प्रतिनिधित्व हुन नपाउँदा नामकरण हुन नसकेको उहाँको भनाई थियो । नयाँ निर्वाचनबाट गठन हुने प्रदेश सभामा गठबन्धनको भूमिका निर्णायक बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता जनाउनु भयो ।