धरान । सुनसरी क्षेत्र नम्बर १ का आदिवासी जनजाती अगुवाहरुले मंसिर ४ गतेको चुनावमा एमाले–जसपाका साझा उम्मेदवारहरुलाई जिताउने बताएका छन् । 

वुधबार धरानमा वृहत भेला गरेर नेकपा एमाले र जनता समाजावादी पार्टी नेपालका उम्मेदवारलाई जिताउन लाग्ने बताएका हुन् ।  

प्रतिनिधी सभा तर्फ जनता समाजवादी पार्टी नेपालका अशोक कुमार राई, प्रदेश सभा क तर्फ रमेशकुमार वस्नेत र ख तर्फ विजयी राईलाई जिताउनको लागि संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेका छन् । 

भेलाले संग्रामसिंह लिम्वूको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीको उपसंयाजक हेमराज जिमी, सचिव विनोद राई, सह सचिवद्वय सोमा याक्खा र सीता राई रहनु भएको छ । 

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नगर उपाध्यक्ष हेमराज जिमीले सुनसरी क्षेत्र नम्बर १ आदिवासी जनजातीहरुको वाहुलियता रहेको क्षेत्र भएकाले भाषा, संस्कृति संरक्षण र विकासको लागि पाठशाला सहित संस्थागत दिगो विकासको निम्ति आदिवासी भवनको आवस्यकता रहेको वताउनु भयो । त्यसैगरि आदिवासी जनजाती महासंघ सुनसरीका जिल्ला अध्यक्ष रामकुमार राईले आदिवासी जनजातीको सम्वृद्धि र विकासको लागि एमाले र जसपाको उम्मेदवार नै सवैभन्दा उपयुक्त भएको भन्दै जिताउनको लागि आग्रह गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालबाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार अशोककुमार राईले उत्पिडित शोषित पीडितहरुको पक्षमा ५० वर्षे राजनीति नेै जनताको राजनीति भएको वताउनु भयो । उहाँले भन्नु भयो–‘म स्वयम् पनि आदिवासी जनजातीको छोरा हुँ,मैले यस क्षेत्रको आदिवासी जनजातीको माग र आवस्यकतालाई वुझेको छु, त्यसैले एमालेसँगको तालमेल नै चुनाव जित्ने  र सरकार वनाउने हो, सरकार वन्नु नै सवैको लागि भलो र हित हुने छ ।’

प्रदेश सभा क तर्फका उम्मेदवार रमेशकुमार वस्नेतले यस क्षेत्रका आम आदिवासी जनजातीको इतिहाँसलाई संरक्षण गर्नको लागि आदिवासी जनजाती संग्रालय निर्माणलाई पुरा गर्नको निम्ति संघ र प्रदेश सरकारबाट आवश्यक वजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यसैगरि प्रदेश सभा ख तर्फका उम्मेदवार विजय राईले पनि वर्षौदेखि पुरा हुन नसकेको र अपुरा कामहरुलाई पुरा गर्नको निम्ति आफु चुनावी मैदानमा उत्रिएको वताउनु भएको छ ।