इटहरी  /  प्रदेश १ का निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यले प्रेस चौतारीसँग आवद्ध सुनसरीका पत्रकारहरुसँग छलफल गर्नु भएको छ । प्रेस चौतारी नेपाल सुनसरीको कार्यालयमा उपलब्द पत्रकारहरुसँग व्यवसायी पत्रकारिताको विकास र निर्वाचनको समयमा मिडियाको भूमिकाका विषयमा छलफल गर्नु भएको हो ।
नेकपा एमालेको तर्फबाट सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारसमेत बन्नु भएका आचार्यले मिडियाको प्रवद्धन र विकासका लागि एमालेले कल्याणकारी कार्यक्रम ल्याउने बताउनु भयो । उहाँले पत्रकारहरुको समस्याका बारेमा पनि जानकारी लिनु भएको थियो । नेता आचार्यले पत्रकारहरुको क्षमता विकास, आर्थिक सवलका लागि के कस्ता कार्यक्रम ल्याउन आवश्यक भएको भन्ने विषयमा पत्रकारहरुसँग सुझावसमेत माग्नु भएको थियो ।
आगामी निर्वाचनमा जनताले राष्ट्रिय पहुँच भएको नेता खोजेको बताउदैं जनताको नजरमा आफु परेको बताउनु भएको थियो । सुनसरीको समग्र विकासका लागि आफुले विगतमा गरेका कामको जनताले मूल्याङ्कन गर्नेसमेत उहाँले बताउनु भयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका प्रदेश १ सहइञ्चार्ज देवेन्द्र कार्की, पूर्व केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराई, प्रेस चौतारी नेपाल सुनसरी इञ्चार्ज अनिल राजधामी, जिल्ला अध्यक्ष सुभद्रा प्याकुरेल, प्रदेश सदस्यहरु, जिल्ला पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।