धरान / नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पोखरा हिडेका प्रदेश १ का ऊसुका खेलाडीहरु इटहरीमा अलपत्र परेका छन् ।
आयोजकले खेलाडी लानलाई प्रयाप्त सवारी साधान नपठाउदा उनीहरु इटहरीमा अलपत्र परेका हुन् । आज साँझ पोखरा हिड्ने तय भए पनि आयोजकले गतिलो बस नपठाएको भन्दैं  खेलाडीहरु इटहरी रंगशाला अगाडी बसेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)का जिम्मेवार व्यक्तिहरुको लापारवाहीले गर्दा खेलाडीहरु अलपत्र परेको उसुका प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री राजेन्द्र राईले जानकारी दिनु भयो । उहाँ नवौं प्रतियोगिताको रेफ्रीमा छनौट भई दुई दिन अघि पोखरा पुग्नु भएको छ ।
उहाँले तत्काल सवारी व्यवस्था गरि पोखरा ल्याई उनीहरुलाई खेलमा सहभागी गराउने वातावण बनाउन माग गर्नु भएको छ । ‘पर्सी असोज ३० गते प्रतियोगिता छ । प्रतियोगिताका लागि अभ्यास गर्ने समयमा खेलाडीहरु इटहरीमा अलपत्र छन् । यो खेल क्षेत्रका लागि दुभाग्य हो ।’–प्रशिक्षक राईले भन्नु भयो- ‘आयोजकले व्यवसथापनमा गम्भीर कमजोरी गरेको कारण खेलाडी रुष्ट भएका छन् ।’  
२६ गते देखि तीन दिनसम्म इटहरीको होटल टुरिष्ट रेस्टुरेन्टमा राखेर क्लोज क्याम्प गरिएको थियो । होटलमा खानबस्न पनि खेलाााडीले पाउने सुविधा अनुसार व्यवस्थापन नगरेको खेलाडीीहरूले गुनासो गरेका छन् । उसु  खेलका खेलाडी रोहित लिम्बुका अनुसार शुक्रबार विहान १० बजेदेखि पोखरा जान इटहरी रंगशालामा अगाडी बसेका थिए । ३३ जना उसुका खेलाडी र  केही कवडीका खेलाडी थिए । राती ७ बजे एउटा गाडी आएर कवडीका खेलाडी गए पनि उसुका ३३ जना खेलाडी गाडीमा जान नपाएको लिम्बुले बताउनुभयो । उनीहरु राती १० बजेसम्म रंगशाला अगाडी बसिरहेका छन् । आफै गाडी व्यवस्था गरेर जाने तयारी भइरहेको खेलाडी लिम्बुले बताउनु भयो ।
आयोजकले लोकल गाडी पठाइदिएकाले खेलाडी जान नमानेको उसुका प्रशिक्षक रविन श्रेष्ठले बताउनु भयो । आयोजकले खेलाडीहरु माथि गैरीजिम्मेबार काम गरेको उहाँले बताउनु भयो ।
यस विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हंशराज वाग्लेले कोच र मेनेजरले दलाली गरेर राखेपले पठाएको गाडीमा नआएर खेलाडीहरुलाई अलपत्र पारेको बताउनु भयो । दलाली गर्ने कोच र मनेजरलाई कारवाही गर्ने बताउदैं उसु खेल प्रतियोगितामा सहभागीता नजनाउदा पनि केही फरक नपर्ने उहाँको भनाई थियो ।