विराटनगर / प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो अधिवेशन माघ २२ गेत दिउँसो १ बजे सोमबार विराटनगरमा रहेको जिल्ला समन्वय समिति मोरङको सभा हलमा बस्ने भएको छ । प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङले सोमबार साझ पत्रकार सम्मेलन गरी प्रदेश सभाको पहिलो अधिवेशनको मिति तोकेका हुन् ।

संविधानको धारा १८३ उपधारा १ बोमोजिन प्रदेश सभाको अधिवेशन प्रदेश प्रमुख तुम्बाहाङले तोकेका थिए । प्रदेश सांसदले सपथ ग्रहण गरेको एकसाता पछि प्रमुख प्रदेश तुम्बाहाङले प्रदेश सभाको पहिलो अधिवेशन तोकेका हुन् । प्रदेश सभाको मिति तोक्नुभन्दा अगाडी प्रदेश प्रमुख तुम्बाहाङले बरिष्ठ अधिवक्ता, अधिवक्ता, बार एशोसेनका पदाधिकारीहरुसँग छलफल समेत गरेका थिए । संवैधानिक बाधा अडचनहरु छन कि भनेर कानुन व्यवसायीहरुसँग छलफल गरेको उनले बताए । कानुन व्यवसायीभन्दा अगाडी प्रदेश प्रमुखले राजनैतिक दलहरुसँग समेत परामर्श गरी प्रदेश सभाको पहिलो अधिवेशनको मिति तोकेका हुन् ।

प्रदेश सभाको अधिवेशनको आह्वन गर्दै प्रदेश प्रमुख तुम्बाहाङले सञ्चारकर्मीहरुसँग भने अब मन्त्री मण्डल गठनको बाटो खुलेको बताए । उनले भने, ‘बहुमत प्राप्त दललाई मन्त्री मण्डल गठन गरी सरकार चलाउन बाटो खुलेको छ ।’ निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो वैठक डाक्नुपर्ने व्यवस्था छ । पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको ढोका खुल्नेछ । प्रदेश सभाको सभामुख र उपसभामुख प्रदेश सांसदमध्येबाट फरक फरक पार्टीका चयन गर्नुपर्ने व्यवस्था संविधानमा छ । प्रदेशसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था छ । एक नम्बर प्रदेशमा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना सामानुपातिक गरी ९३ जना प्रदेश सांसद रहेका छन् ।