धरान  / धरान उपमहानगरपालिका, बराह क्षेत्र नगरपालिकाको केही वडा र रामधुनीको एक वडा रहेको सुनसरी क्षेत्र नं. १ बाट निर्वाचन लड्न पूर्वका 'हेवी वेट' नेताहरु रुचाएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाकाे  निर्वाचनमा चुनाव लडन नेताहरुले तयारी थालेका छन् ।

जयकुमार राईसँग अघिल्लो निर्वाचनमा २२ हजार भन्दाबढि मतले पराजित जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोककुमार राई फेरी धरान सुनसरी क्षेत्र नं. १ बाट चुनाव लड्न तयारी थाल्नु भएको छ । ४४ हजार भन्दा बढि मतले विजयी नेकपा एमाले प्रदेश कमिटी सदस्य जयकुमार राई फेरी यही पदमा चुनाव लडन इच्छा देखाउनु भएको छ । यता प्रदेश १ सरकारका मुख्यमन्त्रीसमेत भइसक्नु भएका सुनसरी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य भीम आचार्य पनि १ नं. क्षेत्रबाट संघमा चुनाव लड्न तयारी गरिरहनु भएको उहाँका स्वकिय सचिव अनिल राजधामीले बताउनु भएको छ । उहाँ नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत हुनुहुन्छ । प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले पनि सुनसरी क्षेत्र नं. १ लाई नै रुचाउनु भएको बताइएको छ । उहाँ नेकपा एमालेबाट भाेजपुरकाे क्षेत्र न‌‍ २ बाट प्रदेशसभामा विजयी हुनु भएकाे थियाे । प्रदेश सभाका सभामुख प्रदिप भण्डारीले पनि यस पटक एमालेबाटै सुनसरी १ बाटै संघमा चुनाव लड्ने बताइएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य किरणकुमार राई पनि संघमा उठ्ने चर्चा चल्दैं आएको छ । यद्यपी गठबन्धनले जनता समाजबादी पार्टिलाई धरान क्षेत्रबाट चुनाव लड्न दिने सम्भावना पनि बलियो रहेको एक नेताले बताउनु भएको छ । 

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा पनि यही क्षेत्रका हुनुहुन्छ । उहाँको पनि सुनसरी १ बाट प्रत्यक्षमा चुनाव लड्ने सम्भावना रहेको छ । उहाँ  स‌घीय सरकारकाे  पूर्व बाणिज्य मन्त्री हाे । गठबन्धन दलहरुमा भने माथिको निर्णय अनुसार उम्मेद्वारी तय हुने नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङले जानकारी दिनु भयो । धरान क्षेत्रमा जनताले नयाँ अनुहार खोजे पनि दलहरुका उम्मेद्वार भने पुरानै देखिएका छन् । पुरानै नेताहरुले टिकटका लागि केन्द्रमा लभिङ गरिरहेका छन् ।

मुख्यमन्त्री राईको नाम सिफारिस 

नेकपा एकीकृत समाजवादी पार्टी सुनसरीले सुनसरी १ नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । 

जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ । प्रदेश सभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीले बताउनुभयो । 

यस्तै, दुहवी केन्द्र रहेको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिसमा पर्नुभएको छ ।

सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नं. ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले बताउनुभयो ।