धरान / लैङ्गीक समानता तथा सामाजिक समावेशीकरणका लागि सामुदायिक सुरक्षा जालो धरानले आइतबार धरानमा सार्वजनिक सुनुवाई गरेको छ । 

टेवा नेपाल धापाखेलको सहकार्यमा भएको सार्वजनिक सुनुवाई प्रदेश १ स्तरिय कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा, महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेङ्, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर सागर थापा, सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानलगायतको उपस्थिति रहेको थियो । 


सार्वजनिक सुनुवाई कार्यक्रममा गृहश्रमिक महिला ढाका लघुउद्यमी समाज नेपालमा आवद्ध महिला, टोलविकास संस्था, खानेपानी उपभोक्ता समितिका सदस्यहरु तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । उहाँहरुले महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक सुरक्षा, श्रमिकको सुरक्षा, महिला उद्योगीहरुलाई सरकारले दिने छुट, घरेलु श्रमिकहरुको समस्यालगायतबारे सरोकारवालाहरुलाई प्रश्न सोध्नु भएको थियो ।

टेवा नेपालको सामुदायिक सुरक्षा जालोको टिम लिटर रुपा उदासले सहभागीहरुलाई स्वागत गदैं कार्यक्रमको अवधारणा, उद्देश्यबारे जानकारी गराउनु भएको थियो । सामाजिक सुरक्षा जालो धरान–१५ की अध्यक्ष प्रेमकुमारी राईको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण विजयपुर नेटवर्कका निर्देशक देवेन्द्र कार्कीले गर्नु भएको थियो । स्थानीयवासीहरुले उठाएका प्रश्नका जवाफ धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा, महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेङ्, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर सागर थापा, सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले दिनु भएको सामुदायिक सुरक्षा जालोकी अनुगमन अधिकृत सरस्वती श्रेष्ठले जानकारी दिनु भयो । 

शहरीया समाज विशेष गरेर महिलाहरु समस्यामा पर्दै गरेको र परिवार विखण्डन हुनु क्रम बढेको कार्यक्रममा उठान भएको थियो । समस्यामा परेका यस्ता परिवारलाई  उचित व्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार हुनु पर्ने जालोकी टिम लिडर उदासले बताउनु भयो । टेवा नेपालले देशका २१ जिल्लामा २१  वटा सामुदायिक सुरक्षा जालो बनाएको छ ।