इटहरी  / नेकपा एमाले पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागले  प्रदेश १ का पर्यटन व्यवसायीहरुसँग छलफल गरेको छ । 

शनिवार इटहरीमा पर्यटन व्यवसायः आजको सन्दर्भ विषयक कार्यशाला गोष्ठी गरेको हो । 

 नेकपा एमाले पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागका प्रमुख एवं प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका पर्यटन व्यवसायीहरुको सहभागीता रहेको थियो । 

कार्यक्रममा पर्यटन बोर्डका सदस्य कृष्ण शाहले 'पूर्वको पर्यटन र आर्थिक सम्वृद्धि' विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै नागरिक उड्यन प्राधिकरण पूर्व महानिर्देशक  सुमन गौतमले पनि 'प्रदेश १ को पर्यटन'बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रका विषयमा पर्यटन व्यवसायीहरुले टिप्पणी गर्नु भएको थियो । 

पर्यटन क्षेत्रका समस्याहरुको विषयमा मुलुकको सातै प्रदेशमा कार्यक्रम आयोजना गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनु भएका आचार्यले बताउनु भएको छ । मधेश प्रदेश र कर्णाली प्रदेशमा छलफल गर्न बाँकी रहेको उहाँले बताउनु भएको छ । छलफलमा उठान भएका विषय कार्यन्वयन गर्न सरकारलाई दवाव दिने उहाँले बताउनु भयो । 

कार्यक्रममा विभागका उपप्रमुख भीम केशी, प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारी, होमस्टे व्यवसायी संघ प्रदेश १ का अध्यक्ष विनोद गुरुङ, विभागका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।