धरान / धरानका मेयर हर्कराज राई(साम्पाङ)को सक्रियतामा स्थानीयको जनश्रमदानमा सर्दु खोलाबाट ७५० वाटको टर्वाइनबाट बिजुली निकालिएको छ । 

विहीबार स्थानीयको सहभागितामा मेयर साम्पाङले विजुलीको रिवन काटेर उद्घाटन गर्नु भयो । सर्दु खोलाबाट ल्याइएको खानेपानीको पाइपबाट बिजुली उत्पादन गर्नका लागि छुट्ट्याएको थियो ।  ३१ मिटरको हेडबाट पानी झराएर टर्वाइन चलाएर विजुली निकाल्ने काम भएको पावर हाउसका म्यानेजर तर्कबहादुर मगरले जानकारी दिनु भयो । 

उहाँका अनुसार बर्षायाममा ५ किलोवाट भन्दा बढीको पनि टर्वाइन चलाउन सक्ने पानी हुन्छ । यसपटक पनि १ किला वाटको  टर्वावाइन जोडने योजना थियो । तर हिउँदमा बग्ने थोरै पानीले पनि चल्न सक्ने टर्वाइन जडान गरिएको हो ।  सो बिजुलीबाट २० वटा वल्भ बाल्न सकिन्छ । सो बिजुली खानेपानीको लागि सर्दु खोला छेऊमा बस्ने चौकीदार, बीपी पार्क (ओशो), पार्कको पुल, जलाधार क्षेत्रमा प्रवेश निषेध लेखिएको बोर्ड आदिमा बालिने बताइएको छ ।

रिवन काटेर उद्घाटन गदैं उहाँले भन्नु भयो–‘नमुना शहर धरानमा अव आफै विजुली उत्पादन गरिदैं छ । अव धरान झन नमुना बन्ने छ ।’ 

उपमेयर अइन्द्रविक्रम बेघाले धरानमा पहिलोपल्ट बिजुली उत्पादन भएको र खोलाखोल्सीबाट पनि बिजुली उत्पादन हुन्छ भन्ने प्रमाणका रुपमा यो ‘प्रोजेक्टको कन्सेप्ट’ आएको बताउनु भएको छ । हाइड्रोपावरका लागि जेनेरेटर, मिटर, पाइप फिटिङसको सेट सिंहबाहिनी इन्जिनियरिङ प्रालिले सहयोग गरेको छ । प्रालिका प्रबन्ध निर्देशक टंकप्रसाद तिम्सिना, उत्पादक निरीक्षक गोपाल खड्का, रमेशप्रसाद तिम्सिना, टेक्निकल पर्सन होमबहादुर लिम्बू, टेक्निसियन नरेन्द्र मानन्धरले सहयोग गर्नु भएको छ । 

 मेयर साम्पाङले धरानको उत्तर तर्फबाट बगेर आएका साना खोलाको पानी संकलन गरेर धरानको खानेपानीको लागि जोहो गदैं आउनु भएको छ । यहाँ पानीबाट विजुली निकाल्न सकिने विज्ञहरुले सुझाव दिए पछि उहाँले स्थानीयको जनश्रमदानमा विजुली उत्पादन गरिएको हो । अव विजुलीको सफलता पछि धरानमा सावुन फ्याक्ट्री खोल्न लाग्ने मेयर साम्पाङले बताउनु भएको छ । बुधबारको कार्यपालिका बैठकमा यसको निर्णय पनि भइसकेको छ ।