धरान  / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नव नियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकहरुले मंगलबार पदबहाली गर्नु भएको छ । रजिष्ट्रारमा प्राडा सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशकमा डा.जगत नारायण प्रसादले पदभार ग्रहण गर्नु भएको हो । 

त्यसैगरी प्रतिष्ठानको कार्यकारिणी सदस्य(सिनेटर)मा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका विभागिय प्रमुख प्राडा ज्ञानेन्द्रबहादुर मल्ल तथा प्याथोलोजी विभागकी विभागिय प्रमुख प्राडा स्मृती कार्की मनोनित हुनुभएको छ । 

प्रतिष्ठानको अडिटोरियम हलमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानका विभागिय प्रमुखहरु, महाशाखा प्रमुखहरु, शाखा प्रमुखहरु लगायत शिक्षक तथा कर्मचारीहरुको उपस्थितीमा प्रतिष्ठानका उपकूलपति डा.ज्ञानेन्द्र गिरीले चारैजनालाई सपथ ग्रहण गराउनु भएको छ । रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यअवधी ५ बर्षको हुने छ । 

एक बर्ष अघि रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले राजीनामा दिए पछि रजिष्ट्रार पद खाली थियो । अस्पताल निर्देशक प्राडा गौरीशंकर साहको पदावधी गत असार १८ गते सकिए पछि पद रिक्त थियो । उपकुलपति गिरीको सिफारिसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले उहाँहरुलाई नियुक्त गर्नु भएको हो ।