खोटाङ । लगातारको वर्षासँगै झरेको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा लगायतका ठाउँमा जाने सवारीसाधन बाटैमा रोकिएका छन् । सवारीसाधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । 
अवरुद्ध सडक पहिरो पन्छ्याएर सञ्चालनमा नगरपालिकाले स्काभेटर पठाएको महादेवीस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ ।
कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं् राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि मध्यपहाडी लोकमार्ग मात्रै सञ्चालन हुँदै आएको छ । 
लगातारको वर्षासँग झरेको पहिराले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक यसअघि नै बन्द भएका छन् । वर्षा सुरु भएसँगै आएको भलबाढी तथा पहिराका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।