धरान / धरानमा रहेको जिल्ला ट्राफिक कार्यालय भवन अभावले अन्यत्र सार्ने भए पछि यहाँका राजनीतिक दलहरु भ्वन बनाउनका लागि पहल शुरु गरेका छन् । 

हालसम्म घर भाडामा लिएर धरानमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जग्गा अभावमा आफ्नो निजी कार्यालय भवन निर्माण गर्न नसकेको र धरानमा जग्गा उपलब्ध हुननसक्दा कार्यालय अन्यत्र सार्न तयारी भएको थियो । 

कार्यालय नै सार्ने भए पछि धरानमा क्रियाशील राजनीतिक दलहरुले सामुहिक रुपमा जग्गा उपलब्ध गराउन पहल शुरु गरेका हुन । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्त पहल शुरु गरेका छन् । उनीहरुले यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे र जिल्ला ट्राफिक कार्यालय, सुनसरीका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतसंग भेट गरी सम्बन्धित निकायमा पहल शुरु गरेका हुन ।  

दलहरुको प्रतिनिधि मण्डलले ट्राफिक कार्यालय हाईवेमा हुंदा उत्तम हुने भएकाले धरानको तिनकुनेस्थित बनको जग्गा दश कठ्ठा उपलब्ध गराउन मन्त्री घिमिरेसमक्ष माग गर्नु भएको छ । मन्त्री घिमिरेले पनि दलहरुको मागप्रति सहमत हुंदै यथाशक्य जिल्ला ट्राफिक कार्यालयको निवेदन, लाङघाली सामुदायिक वनको सहमति र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गर्न निर्देशन दिइने बताउनु भयो । त्यसैगरी जिल्ला ट्राफिक कार्यलयले पनि दलहरुसंगको भेटपछि धरान उपमहानगरपालिकालाई वातावरणीय प्रभाव मूल्यांकनका लागि र लाङघाली सामुदायिक वनलाई सहमतिका लागि पत्राचार गरेको छ । दलहरुले पनि धरान उपमहानगरपालिका, लाङघालाी सामुदायिक वन र ईलाका तथा जिल्ला वन कार्यालयसंग अविलम्व समन्वय गर्ने जनाएका छन् । 

प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा एमालेका नगर अध्यक्ष हर्कराज एभेङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्वु र नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रेवतीरमण राईलगायतको टोलीले पहल शुरु गरेको हो ।