धरान / महेन्द्र राजमार्ग अन्तर्गत पूर्व पश्चिम सडकको स्तरिन्नती शुरु भएको छ । पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडकलाई चार लेनको वनाउने काम शुरु भएको छ । 

चार लेन सडक बनाउन कुल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सडक आयोजनाले जनाएको छ । एडिवीको सहयोगमा विस्तार हुन सडकका लागि सरकारले टेण्डर समेत आह्वान गरेको आयोजना प्रमुख सुशीलबाबु ढकालले बताउनु भयो ।  

कुल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ । पुल र परामर्शदाताको शुल्कबाहेक भने यस सडकको निर्माणमा प्रतिकिलोमिटर खर्च साढे २३ करोड रुपैयाँ हुने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख छ ।

एडीबीले ३० करोड अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदर अनुसार करिब ३८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ । यसबाहेक नेपालले पनि सडक निर्माणमा कम्तिमा ७ अर्ब रुपैयाँ लगानी गर्नेछ । सडक विस्तारको कुल लागतमा परामर्शदाताको शुल्क, निर्माण कार्यको लागत लगायतका सबै खर्चहरू समावेश रहेको छ । 

सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । जसमा सडक खण्डमा पर्ने ६ वटा पुल निर्माण भइरहेको छ । यसको पहिलो खण्डमा निन्दा, बिरिङ र कन्काई नदी प्रमुख रहेका छन् । यस्तै दोस्रो खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ । यो आयोजनाको अवधी तीन बर्ष तोकिएको छ । 

पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेन विस्तार अन्तर्गत हाल ठेक्का आह्वान गरिएको यो सडक–खण्ड झापाको काँकडभिट्टादेखि सुनसरीको कोसी गाउँपालिकाको लौकहीसम्म कुल लम्बाइ ९६ किलोमिटर रहेको छ । यो सडक एसियन सडक मापदण्ड अनुसार बन्ने बताइएको छ । 

सडकको चौडाइ २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ । सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५–२५ मिटर हुनेछ । 

जनावरहरूको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरू, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरू निर्माण हुने बताइएको छ । सहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टि ७/५ र ७/५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टि ५/५० र ५/५० मिटरको निर्माण गरिनेछ । यस्तै सर्भिस लेन सडकको दुवैतिर ६/५० र ६/५० मिटरको रहेको छ । सहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।