धरान  / असार २० गते हुन गइरहेको सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा विजय श्रेष्ठ समूहले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

विजय श्रेष्ठ समूह जिताऔँ अभियान समूहले ‘आर्थिक क्रान्ति उद्योगी व्यवसायीको समृद्धिका लागि हाम्रो उम्मेदवारी’ नारा तय गरेको छ ।  ४१ बुँदे प्रतिबद्धता पत्रमा सुनसरी उद्योग वाणिज्य सङ्घलाई विशुद्ध उद्योगी व्यवसायी र व्यापारीको लगानी सुरक्षा र प्रवर्द्धन गर्ने र तिनीहरूको समस्यालाई समाधान गर्ने एक मात्र छाता संस्थाकोरुपमा स्थापित गरिने देखि उद्योगी व्यापारीलाई दिने सेवा प्रविधिमैत्री बनाउँदै लैजाने र धरान, इटहरी, दुहबी जस्ता सहरमा ट्राफिक व्यवस्थापन राम्रो हुन नसक्दा व्यवसायमा परेको नकारात्मक असरलाई सरोकारवालाहरुसंग सहकार्य गरी व्यवसाय मैत्री ट्राफिक व्यवस्थापनमा पहल गर्ने सम्मका रहेका छन् ।

 सङ्घको पाँच पूर्व अध्यक्षहरूले विजय श्रेष्ठ सबैको साझा उम्मेदवार भएको उद्घोष गरेका छन् ।  विजय श्रेष्ठ समुहले शनिवार पत्रकार सम्मेलन गरि पूर्व अध्यक्षहरुको साथ रहेको जानकारी दिउको छ । पूर्व अध्यक्षहरू खजान्चीदास अग्रवाल, विजय डागा, मोहनकाजी शाक्य, राजेन्द्र शाह र सरोज श्रेष्ठले विजय श्रेष्ठ सबैको साझा उम्मेदवार भएको बताउनु भएको छ ।   पत्रकार सम्मेलनमा यस समुहमा कुनै एक दल अथवा गठबन्धन उम्मेदवार नभएको पूर्व अध्यक्ष सरोज श्रेष्ठले बताए । उहाँले यहाँ सबै दल र समूहका व्यापारी व्यवसायी रहेकाले विजय श्रेष्ठ सबैको साझा उम्मेदवार भएको बताउनुभयो ।  

कार्यक्रममा उवासंघको पूर्व वरिष्ठ उपाध्यक्ष राजकुमार राईले विजय श्रेष्ठको समूहलाई जिताउन अपिल गर्दै उद्योगी व्यवसायीहरूको कुरा चुनाव नजिकिँदा मात्रै सुनिने र देखिने गरेकोले यस्तो प्रथाको अन्त्य गर्दै नमुना उद्योग वाणिज्य सङ्घ बनाउन यो समूह लागि पर्ने बताउनु भएको थियो ।  

पत्रकार सम्मेलनमा विजय श्रेष्ठ समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।