धरान  / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पिण्डेश्वर क्याम्पस कमिटीले विहीबार पिण्डेश्वर विद्यापीठको कालिदास भवनमा  सुनसरी जिल्ला अन्तर क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। 

 कार्यक्रमको अध्यक्षता अनेरास्ववियु पिण्डेश्वर क्याम्पस कमिटीका अध्यक्ष अनुप ढुङ्गेलले गर्नु भएको थियो। प्रमुख अतिथिमा अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष एवं १नं प्रदेशका इन्चार्ज  लोकेश निरौला रहनु भएको थियो । 

१८ प्रतिस्पर्धीहरूको प्रस्तुतिलाई निर्णायक नतिजा दिनका लागि उपप्राध्यापक डा. सुबास न्यौपाने प्रमुख रहनुभएको निर्णायक मण्डलमा अन्य २ उपप्राध्यापक डा. रमेश कुमार लिम्बू र उपप्राध्यापक अम्बर राज ढकाल रहनु भएको थियो । 

राष्ट्र निर्माणमा युवाको भूमिका शिर्षकको वक्तृत्वकला कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न कलेजबाट १८ जना प्रतिस्पर्धी रहेका थिए । त्यसमा विजयी हुने विद्यार्थीहरूमा प्रथम  सुम्निमा लिम्बू (कस्तुरी कलेज), द्वितीय दिपेन भण्डारी(यूएन कलेज), तृतीय सदिक्षा खड्का(कस्तुरी कलेज), सान्त्वना समिक्षा राई(धरान मोडल कलेज), उत्कृष्ट छात्रा  वर्षा परियार(केन्द्रीय प्रविधि क्याम्पस) रहनु भएको छ । 

विजयी बिद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले धरान उपमहानगरपालिकाका अध्यक्ष हर्क एभेङ र पिण्डेश्वर विद्यापीठका  प्राचार्य उप प्राध्यापक काशीनाथ पौडेल हुनुन्थ्यो। यस्तै अनेरास्ववियु  स्थायी  कमिटी सदस्य एंव १ नम्बर प्रदेश सह इन्चार्ज अन्जु पाण्डे , अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज जिवि गजल,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा सुनसरी जिल्ला सह–ईन्चार्ज मोनालिसा श्रेष्ठ , अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नवराज खड्कालगायत जिल्ला कमिटीका पदाधिकारी , विभिन्न क्याम्पस कमिटीका पदाधिकारी , प्राध्यापक संघ संगठनका प्राध्यापकहरू, कर्मचारी संघका प्रतिनिधिहरू र वडा सदस्यहरूसमेतको सहभागिता रहेको थियो।