धरान  / सुनसरी उद्योग वाणिज्य संघको यही असार २० गते हुने निर्वाचनलार्य लक्षित गरि गठबन्धनतर्फका अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठसहितको समूहले व्यवसायीहरुसँग भेटघाट तिव्र बनाएको छ । 

 निर्वाचनका सन्दर्भमा वस्तुगत संघ र पूर्व अध्यक्षहरुसँग बुधबार छलफल गरिएको छ । परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्षका उम्मेदवार श्रेष्ठले आफ्ना सङ्कल्प र एजेण्डाहरु व्यवसायीहरु विच प्रस्तुत गर्नु भयो ।  

श्रेष्ठले दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यभार पूरा गर्ने उद्देश्यअनुरुप योजना निर्माण गरेको जानकारी गराउनु भएको थियो ।  

श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्ने, संघको दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, सरकार र संघबीच सहकार्य गर्ने, महँगी नियन्त्रणको उपायको खोजी गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, उद्योगी व्यावसायीको सुरक्षामा जोड दिने, प्रदर्शनी स्थल, पार्टी प्यालेस, आवश्यक स्थानमा सीसीक्यामेरा जडान गर्ने साथै व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने आधारभूत एजेण्डा अघि सार्नु भएको छ । 

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु तथा अग्रज व्यवसायी उद्योगीहरुअशोक ताम्राकार, खजान्चीदास अग्रवाल, गौरीशंकर अग्रवाल, गिरिधारी सापकोटालगायतले शिवराज श्रेष्ठको टिमले व्यवसायीहरुको हित गर्ने बताउनु भएको थियो ।  

परिचय तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक मनोज मेन्याङ्वो, नेकपा एमालेका प्रदेश सचिवालय सदस्यहरु रमेश बस्नेत, मुरारी सुवेदी, प्रदेश कमिटी सदस्य रामकुमार आङ्बुहाङलगायतको उपस्थिति रहेको थियो ।  यस्तै नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घका केन्द्रीय सदस्य केदार लामिछाने, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य सिपी दत्त,  नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजङ एभेङ, नेकपा एकीकृत समाजवादीका धरान अध्यक्ष रेवतीरमण राई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू, केन्द्रीय पोलिटब्यूरो सदस्य दीपक मेन्याङ्बोलगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो । 

‘सक्षम, सुदृढ र समृद्ध सुनसरी उद्योग वाणिज्य संघ, व्यावसायिक सुरक्षाका लागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नारासहित श्रेष्ठ अध्यक्ष रहेको प्यानलतर्फ उद्योगमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । वाणिज्यतर्फ महिला सदस्यमा ममता शाक्य, वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नविन राजभण्डारी, नविन लिम्बू, राजेश अग्रवाल र सीताराम आचार्यले सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।  

यस्तै वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बूले सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । सबै पार्टी संगठन र व्यवसायीहरु समेटर साझा टिम आफुहरुले बनाएको अध्यक्षका उम्मेद्वार श्रेष्ठले बताउनु भयो । टिममा लामो समयदेखि व्यवसायीक हकहितका लागि काम गदैं आएका अनुभवी व्यवसायीहरुको उम्मेद्वारी रहेकाले साझा टिमको जित सुनिश्चित रहेको निर्वाचन परिचालन समितिका संयोजक मनोज मेन्याङ्वोले बताउनु भएको छ ।