धरान / प्रदेश १ का दुई उपमहानगरपालिकाहरुले आगामी आर्थिक बर्ष २०७९र८० को लागि बजेट विनियोजन गरेका छन् । दुवै उपमहानगरले शुक्रबार बजेट ल्याएका हुन् । 

पुरानो उपमहानगर धरानले इटहरी भन्दा झण्डै आदी मात्र बजेट ल्यायो । भरखर शहरिकरण भएको इटहरीले २ अर्व १८ करोड ६ लाख १० हजार रुपैँयाको बजेट प्रस्तुत गर्दा धरान उपमहानगरले १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको मात्र बजेट प्रस्तुत गरेको छ ।  धरानकाे यो चालु आर्थिक बर्ष २०७८/८९ को भन्दा  झण्डै ३५ करोड कम हो । चालु आर्थिक बर्षमा धरानको बजेट २ अर्ब ३ करोड ६४ लाख रहेको थियो । 

आगामी आर्थिक बर्षमा कुल विनियोजन मध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजाजर ४ सय २२ रुपैया विनियोजन गरेको उपप्रमुख अईन्द्रविक्रम बेघाले जानकारी दिनु भयो । 

उपप्रमुख बेघाले आगामी बर्ष खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अुदान ५ करोड २० लाख, संघीय सरकार अनुदानबाट ८३ करोड ४ लाख, प्रदेश सरकार अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाँटबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हनजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरेको नगरसभामा प्रस्तुत बजेटमा उल्लेख छ ।

बजेटले खानेपानी, पुर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथमिकतामा राखेको पनि उपप्रमुख बेघाले जानकारी दिनु भयो ।

बजेटमा २० वटै वडाको लागि कुल ३१ करोड ५० लाख विनियोजन गरिएको छ । शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख, स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख विनियोजन गरिएको छ । पर्यटनतर्फ ३० लाख, सुचना तथा सञ्चारतर्फ २५ लाख, साहित्या कला र सँस्कृतितर्फ ४५ लाख विनियोजन गरिएको उपप्रमुख बेघाले जानकारी दिनु भयो । 

यता इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता कुमारी चौधरीले शुक्रबार आगामी आर्थिक बर्ष २०७९/०८० का लागि २ अर्व १८ करोड ६ लाख १० हजार रुपैँयाको बजेट प्रस्तुत गरेकी छन् ।

उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलको सभापतित्वमा सम्पन्न उपमहानगरको ११ औँ नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर चौधरीले अघिल्लो आर्थिक बर्षभन्दा ६१ लाख रुपैँया बढिको बजेट प्रस्तुत गर्नुभएको छ । 

उपमहानगरको अघिल्लो आर्थिक बर्षमा २ अर्व १७ करोड ४५ लाख रुपैँयाको बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर चौधरीले इटहरीको बुढीगंगा जमुना मुक्ति घाटको थप विकास गरी धार्मिक पर्यटकिय क्षेत्रको रुपमा संरक्षण र सम्वर्दन गर्ने, थारु जातिलाई इटहरीको पहिलो जातिको रुपमा सुचिकृत गर्ने र ग्रामथानहरुको संरक्षण र सम्र्बधन गर्ने र थारु जातिको विकासका लागि ३० लाख रुपैँया विनियोजन गरेको बताउनु भयो । 

यसैगरी इटहरी उपमहानगरले विभिन्न जात जाति र धर्म संस्कृति परम्परा अनुसार शव दाह स्थलको यथोचित विकास गर्ने र घरदेखि घाट सम्म कार्यक्रम लागू गरी नगरले आफ्नै खर्चमा २ वटा शव वहान खरिद गर्ने नीति सार्वजनिक गरेको छ ।

बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै उपमेयर चौधरीले घरदेखि घाटसम्म कार्यक्रम सञ्चालन गरी २ वटा शव वहान खरिद गर्ने र इटहरी नगरक्षेत्रभित्रका नागरिकको मृत्यु भएको खण्डमा शवलाई स्थानीय घाटसम्म निःशुल्क पुर्याउने प्रर्बन्ध गर्ने समेत व्यवस्था मिलाउने बताउनु भयो ।