धरान  / धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले कार्यपािलका सदस्यहरुलाई विभिन्न जिम्मेवार तोकेको छ । 

पहिलो कार्यपालिका बैठकमा भएको चर्काचर्की बहसलाई साम्य पादैं आइतबार बसेको बैठकले १७ नं. वडाका वडाध्यक्ष सूर्यप्रसाद भट्टराई(मनोज)लाई उपमहानगरको प्रवक्ता तोकेको छ । 

  बैठकमा मेयर हर्कराज राईले एजेण्डाबारे जानकारी गराउनुभएको थियो ।  त्यसपछि, उपमेयर अइन्द्रबिक्रम बेघाले एजेण्डाहरुलाई बैठकमा विस्तृतरुपमा प्रस्तुत गर्नु भयो । ती एजेण्डामा केही वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आफ्नो धारणा राखेर पारित गरिएको छ । 

बैठकले सार्वजनिक भवन, पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रकृयाको सट्टा उपमहानगरपालिका स्वयमले संकलन गर्ने निर्णय गरेको छ । यस सबै उपमहानगरका सार्वजनिक भवनहरु पार्कलगायत ठेक्का प्रक्रियाबाट राजस्व संकलन गरिदैं आएको थियो । 

 यस्तै, आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी तथा सरसफाईलाई प्राथमिकताको आधार बनाउने निर्णय पनि बैठकले गरेको छ । साथै, पूर्वाधार विकास, पर्यटन, कृषी, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापनलाई पनि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकता दिने निर्णय बैठकको छ ।

 बैठकले बैशाख ३० गते निर्वाचनबाट निवार्चित भएका वडा सदस्यहरुसहितको परिचयात्मक बैठक असार २ गते उद्योग वाणिज्य संघको हलमा गर्ने निर्णयसमेत गरेको छ । विभिन्न न्यायिक तथा अर्ध न्यायिक निकायहरुमा फिराद गर्नुपर्दा र नगर कार्यपालिका विरुद्ध परेका फिरादहरुको प्रतिरक्षा सम्बन्धी सम्पुर्ण कार्वाही गर्न उपमहानगर प्रमुखलाई अधिकार प्रत्योजन गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । बैठकले सबै कार्यपालिका सदस्यहरुलाई समेटेर विषयगत समितिहरुसमेत बनाएको छ । 

धरानको आर्थिक बर्ष २०७८, ७९ को नगरसभा असार ८ गते आहवान गर्ने पनि निर्णय भएको छ ।