काठमाडौं  / सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साहलाई शनिबार काठमाडौंबाट पक्राउ गरिएको छ । उहाँलाई प्रहरीले सप्तरी पठाएको छ ।अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी भएकाले उनलाई पक्राउ गरी सप्तरी पठाइएको एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिनु भयो । 

परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका थिए । निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न थियो । साहका छोरा नन्दकिशोरलाई नन्दकिशोरलाई बिहीबार धरानबाट पक्राउ गरिएको थियो । रामदेवसहित अन्य भने फरार छन् । प्रहरीले खोजी गरिरहेको छ । 

पीडितहरूले साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरी प्रहरीमा दिएका थिए । 

उजुरी परे पनि अनुसन्धानमा प्रहरीले ढिलाई गरेकाले पीडितहरुले न्याय पाउन सकेका थिएनन् ।  विपन्नमाथि भएको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् । हालसम्म साहले साढे ९ विगाहाजग्गा र करोडौ पैया पीडितबाट असुलेको फेला परेको छ ।