धरान  / प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । 

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।  खडक नगरपालिकाको कल्याणपुर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीले डेढ दशकयता मिटरब्याजमा सर्वसाधारणबाट करोडौँ असुल मात्रै गरेका छैनन्, साँवाको ६ गुना रकम उठाइसक्दा पनि ‘बन्धकी’ राखेको जग्गा फिर्ता गरेका छैनन् । 

हाल धरान उपमहानगर– १९ धनकुटे रोडमा ठूलो महल किनेर माओवादी द्वन्द्व कालदेखि बस्दै आएका साहुकार रामदेवकै कारण दर्जनभन्दा बढी विपन्न परिवारको उठिबास लागेको छ । आर्थिक समस्यामा परेका नागरिकलाई रामदेवले ब्याजमा ऋण लगाउँथे । अनि परिबन्धमा पारेर सर्त तेर्स्याएर भएको जग्गा आफ्नो नाममा पास गराउथे । जग्गा नाममा ल्याइसकेपछि चर्को ब्याज असुल्थे । ऋण दिएको रकमको तीन–चार गुना असुल गरिसक्दा पनि जग्गा फिर्ता नगरेको भन्दैं पीडितहरु हारगुहार गदैं आउनु भएको छ । 

सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का रामप्रसाद खत्वेसहित १० पीडितले साहुकार रामदेवविरुद्ध तीन महिनाअघि नै ठगी तथा आपराधिक विश्वासघातको उजुरी प्रहरीमा दिएका थिए । तर, प्रहरीले पनि आफूहरूको न्यायका लागि पहल नगरेको पीडितको गुनासो छ । साहुलाई खोज्दैं उहाँ ५ पटक धरान आउनु भएको छ । तर न्याय नपाएर त्यतिकै फर्कनु परेको उहाँहरुको गुनासो छ । 

७० वर्षीय खत्वेले घरायसी कामका लागि ०७४ मा साहुकार रामदेवसँग पाँच लाख ऋण लिएका थिए, ०७५ मा छोरी रञ्जनाको बिहे गर्दा फेरि सात लाख ऋण थपे । ऋण लिन आफ्नो नाममा रहेको शम्भुनाथ नगरपालिका– ११ स्थित कित्ता नम्बर ४७८ को १७ कट्ठा जग्गा रामदेवको नाममा पास गरे । अरूलाई झैँ खत्वेलाई पनि साहुकारले ‘ऋण चुक्ता गरेपछि जग्गा फिर्ता दिने’ बताएका थिए । अहिलेसम्म ४० लाख तिरिसके । तैपनि मिटरब्याजी रामदेवको बहिखाताबाट खत्वेको ऋण घटेको छैन, जग्गामा पनि साहुकारकै कब्जा छ ।

बोदेबर्साइन नगरपालिका– ७ का मोहम्मद तैयब अलीले ऋण लिएको ३८ लाखको सट्टा ९५ लाख बुझाइसके । तैपनि साहुकार रामदेवले फिर्ता गर्ने गरी आफ्नो नाममा लगेको घरसहितको डेढ बिघा जग्गा अझै फिर्ता गरेका छैनन् । तैयबले छोरी खुस्मुदा खातुनको बिहेका लागि ०७१ मा रामदेवसँग ऋण लिएका थिए । तैयबले पीडा पोख्नु भयो –‘न्याय पाइएला भनेर प्रहरीमा पुगेर सबै घटना सुनाए । उजुरी पनि दिएको छु । तर, प्रहरीले अझैसम्म केही गरेको छैन ।’ पछिल्लो समय उहाँहरुले धरानमा पुगेर जेठ १९ गते विहीबार पत्रकार सम्मेलनसमेत उहाँहरुले गर्नु भयो । 

मिटरब्याजको ऋण चुक्ता गरिसके पनि आफ्नो जग्गा फिर्ता नपाएपछि सप्तरीबाट साहु खोज्दै आएका पीडितहरुले अब कि आफु मर्ने वा पीडकलाई मार्ने अवस्थामा आफुहरु पुगेको अभिव्यक्रि दिनु भएको थियो ।  पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासन, अदालत सबैतिर गुहारे पनि कतैबाट न्याय नपाएको भन्दै अब अन्तिम विकल्पमा कठोर बाटो लाग्न बाध्य हुने अलीको भनाई थियो ।  ‘२०७१ सालमा पैसा लिएर जग्गा दिए । सबै पैसा तिरिसके । अझै पैसा मागेको मागेकै छ । जग्गा पनि फिर्ता दिएको छैन । कसैले हाम्रो कुरा सुन्दैन, अब एउटै विकल्प छ, कि म मर्छु, कि मार्छुै । अव साहुलाई पनि माछु अनि आफु पनि मर्छु ।’–अलिने भन्नु भयो । अझै पनि न्याय नपाउने हो भने साहुलाई मारेर आफु आत्महत्या गर्नुको हामीसँग विकल्प नरहेको उनीहरुको भनाई छ । 

उहाँले संघर्ष समिति पनि बनाउनु भएको छ । समितिका संयोजक छेदीलाल पासवानले प्रहरी र अदालतबाट पनि न्याय नपाएको भन्दै अब सडक आन्दोलन गर्ने बताउनु भएको थियो । धरान १९ मा रहेको मिटरब्याजी रामदेव साहको घरमा पनि धर्ना बस्ने तयारी गरेको उहाँले बताउनु भयो । 

 तैयबका अनुसार ३ कात्तिक ०७३ मा आठ लाख, १५ वैशाखमा ०७४ मा १५ लाख, सोही वर्षको कात्तिकमा ११ लाख र पुसमा नौ लाख रुपैयाँ मिटरब्याजी रामदेवलाई बुझाइसकेका छन् । त्यसबाहेक अरू वेलासमेत २५–५० हजार गरेर अहिलेसम्म ९५ लाख तिरिसकेको उनको भनाइ छ । 

बोदेबर्साइन नगरपालिका– ९ का शीतल यादवले पनि ०६५ मा रामदेव साहुलाई साढे १२ कट्ठा जग्गा पास गरेर दुई लाख ७० हजार ऋण लिए । र, छोरा रवीन्द्रलाई विदेश पठाए । त्यसपछि उनको सपना थियो, छोराले पैसा कमाएपछि धुमधामले छोरीको बिहे गर्ने । तर, विदेशबाट छोराले पठाएको रकम साहुलाई तिर्दै पुगेन । अहिलेसम्म १२ लाख तिरिसके । तैपनि साहुकार रामदेवले ऋण र ब्याज गरेर अझै ४४ लाख बाँकी रहेको भन्दै जग्गा फिर्ता गरेको छैन । 

पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी पत्नी ६५ वर्षीया शिवकुमारी देवी साहु, छोरा ४४ वर्षीय नन्दकिशोर साह र छोरीहरू ४५ वर्षीया रेणुकुमारी साह र ४० वर्षीया अनुराधा साहविरुद्ध तीन महिनाअघि नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता गराउनु भएको थियो । तर, अहिले प्रहरीले साहुकार रामदेवलाई पक्राउ गरेको छैन । यद्यपि, प्रहरीले मालपोत कार्यालय सप्तरीमा रहेको उहाँको नामको जग्गा भने रोक्का गरेको छ । 

अदालतले अनुमति नदिएका कारण रामदेवलाई पक्राउ गर्न नसकिएको प्रहरीले बताउदैंआएको छ । गत चैत २४ गते नै सप्तरी जिल्ला अदालतबाट पक्राउका लागि अनुमति मागेको तर नपाएको सप्तरी प्रहरीका प्रवक्ता तथा डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भएको छ ।