धरान / ०७४ मा निर्वाचित भई पाँच वर्ष स्थानीय सरकारको वडा धरान उपमहानगरमा यस पटक ८ वटा वडाका अध्यक्षहरु पुनः दोहोरिएका छन् । तीन जना पराजय भए । धरानमा २० वटा वडा रहेका छन् ।
अघिल्लो कार्यकालमा कम विवादमा परेका र स्थानीय सरकारमा राम्रै भूमिका निर्वाह गरेका आधारमा पुनः उम्मेदवार बन्ने मौका ११ जनले पाएका थिए । पाएकामध्ये अधिकांश यसपटक पनि निर्वाचित भएका हुन् । तर, दोहोरिएर उम्मेदवार बनेका धेरै पराजित पनि भएका छन् ।
घरदैलोनजिकको सरकारमा पुरानै अनुहार दोहोर्याएकोमा मतदाताले विगतको कार्यकालमा भन्दा उनीहरूबाट थप प्रभावकारी र सहज सेवा प्रवाह हुने अपेक्षा राखेका छन् ।
वडा नं. १ मा रोशन अधिकारी पार्टी परिवर्तन गरेर पुन अध्यक्षमा उठ्नु भएको थियो । उहाँ पराजित हुनु भयो । यस्तै ४ नं. वडामा मानबहादुर राई पनि एमालेबाट एकिकृत समाजवादीमा प्रवेश गरेर पुन उठ्नु भएको थियो उहाँ पनि पराजित हुनु भयो । वडा नं. ५ का सन्तोष राई अलोप्रिय भएका कारण परिाजित हुनु भयो । उहाँ पुन नेपाली कांग्रेसबाट उठ्नु भएको थियो ।
७ न.. वडामा एमालेबाट जीवन सुवेदी पुन दोहोरिनु भएको छ । उहाँ २०५४ सालदेखि लगातार वडामा विजयी हुदैं आउनु भएको छ । १२ नं. वडामा एमालेकै टंक राई दोहोरिनु भयो । १३ नं. वडामा नेत्र काफ्ले एमालेबाट दोहोरिनु भएको छ । १४ नं. वडामा कांग्रेसबाट दल परिवर्तन गरेर राप्रपाबाट कृष्णप्रसाद भट्टराई पुन अध्यक्षमा निर्वाचित हुनु भएको छ । १५ नं. वडामा एमालेका नरेश इवाराम अत्याधिक मतानतरमा पुन अध्यक्षमा दोहोरिनु भयो । १७ नं. वडामा माओवादी केन्द्रका मनोज भट्टराई दोहोरिनु भएको छ । यस्तै १८ नं. वडामा नेपाली कांग्रेसका नरेन्द्रकुमार राई दोहोरिनु भयो । १९ नं. वडामा एमालेका पूर्णप्रसाद लिम्बु दोहोरिनु भएको छ । ५ वटा वडामा एमालेका वडाध्यक्षहरु दोहोरिएका छन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित धेरैजसो जनप्रतिनिधिले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । १५ नं. वडाका नवनिर्वाचित वडाध्यक्ष नरेश इवारामले राम्रो काम गरेकै कारण फेरि निर्वाचित हुन सकेको भन्दै जनताको निकट रहेर काम गर्दाको परिणाम आउँदा खुसी लागेको बताउनु भएको छ ।
‘‘शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाइ, सम्पदा, सहकारीसँग समन्वय गरेर विकास निर्माणका काम गर्ने छौं । जनताका साना समस्या पहिचान गरि समाधान गर्ने छौं ।’–उहाँले भन्नु भयो–‘पार्टीको घोषणापत्रअनुसार जनतालाई जहाँ–जहाँ समस्या पर्छ, त्यहाँ–त्यहाँ नै पुगेर सेवा दिन्छौं ।’ अन्य पार्टीले जस्तो कुरा मात्र गर्ने काम नगर्ने परिपाटी आफ्नो पार्टीको नभएकै कारण भारी मतान्तरसहित निर्वाचित हुन सफल भएको उहाँको भनाई छ ।
एमालेबाट वडाअध्यक्षमा नरेश इवारम ३६०८ मत प्राप्त गरेर निवार्चित हुनु भएको थियो । उहाँले आफ्नो निकटतम प्रतिद्धन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका सुवास खवासलाई २४२६ को फराकिलो अन्तरले पराजित गर्नु भएको थियो ।
फेरि निर्वाचित हुन पाउँदा खुसी लागेको भन्दै जनताको सेवा गर्न सकेकै कारण मत पाएको १७ नं. वडामा पुन निर्वाचित वडाध्यक्ष भट्राईले बताउनु भयो । ‘जनताको सेवा गरियो भने भोट पाइँदो रहेछ । धेरै खुसी लागेको छ ।’–उहाँले भन्नु भयो– ‘पहिलो कार्यकालमा भएको कमी–कमजोरीलाई सुधार गर्दै पहिलो कार्यकालमा भएका अधुरा काम सम्पन्न गर्नेछु ।’
धरान १४ का नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा चुनाव जित्नु भएको थियो । यस पटक अन्तिम अवस्थामा कांग्रेसले माइनस गरे पछि राप्रपबाट चुनावी मैदानमा उत्रनु भयो । उहाँले पनि लोप्रिय मतमा विजय हुनु भएको थियो । निर्वाचित भए पछि पुरानाकामलाई पुरा गर्ने र नयाँ लोकप्रिय काम गर्ने योजना पनि बनाएको उहाँले सुनाउनु भयो । वडामा २० युनिट मात्र विजुली खपत गर्ने ग्राहकको शुल्क अव वडाबाटै तिर्ने घोषणा गर्नु भएको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य संस्थाबाट पाइने निशुल्क औषधी घरघरमा पुर्याउने व्यवस्था मिलाउने उहाँले बताउनु भयो । १४ नं. वडालाई धार्मिक पर्यटकीय वडा बनाएर जनताका आधारभूत आवश्यकतालाई पथमिकतामा राखेर काम गर्ने उहाँले बताउनु भयो ।


















