धरान / स्थानीय तहको चुनावमा धराने जनताले राजनीतिक दलहरु प्रति वितृक्ष्णा भएको उजागार गरेका छन् । वडाहरुमा राजनीतिक दलका उम्मेद्वारलाई समर्थन गरे पनि मेयरमा भने स्वतन्त्र उम्मेद्वारलाई रुचाएका छन् ।

धरानमा एउटा सामान्य मान्छेले इतिहास बनाउनु भएको छ । हर्कराज राई(साम्पाङ)ले ठूला पार्टीलाई पछाडि पार्दै मेयरमा विजयी हुनु भएको छ । 

उहाँले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा  विजयीहुनु भएको हो । उहाँले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गर्नु भएको छ । उहाँ निकटतम प्रतिद्धन्द्वी गठबन्धनका उम्मेद्वार राईले १६ हजार ६९ मत मात्र प्राप्त गर्नु भयो । 

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार एमालेबाट उम्मेद्वार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गनुृ भयो ।  सामाजिक अभियान्तको रुपमा दरिनु भएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, विपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको वेथितिबारे एक्लै आवाज उठाउदैं आउनु भएको थियो । उहाँ मेयरमा उठने भए पछि राजनीतिक दलहरु प्रति नकरात्मक सन्देश फैलाउदैं एक्लै घर दैलो गर्नु भएको थियो । एक्लै भए पनि मुद्वा जायज भएको देखेर धराने जनतालाई उहाँलाई लोकप्रिय मत दिएर जिताउनु भएको छ । उहाँले २०७६ को उपनिर्वाचनमा पनि मेयरमा उम्मेदेवारी दिदा ४४२ मत ल्याउनु भएको थियो । 

धरानमा २०७६ साल पछि एमालेको लाल किल्ला भत्कियो

बामपन्थी गढको रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा एमालेका लागि ठूलो प्रतिष्ठाको विषय थियो । २०४८ सालदेखि बामपन्थीले जित्दैं आएको धरान एमालेको लालकिल्लाको रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोकिएको छ । स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले एमालेलेको लालकिल्ला भत्काउनु भयो ।  माओवादी र एमाले एक भएको बेला १६ हजार मतान्तर हुदा राईले बामपन्थी उम्मेद्वार प्रकाश राईलाई हराएर ‘लालकिल्ला’ तोडिदिनु भयो ।

ठूलो संघर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरी गठबन्धनका घटकहरु नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी(एस), जनता समाजवादी पार्टी र जनमोर्चाको साथमा ०७६ मंसिरको उपनिर्वाचन दोहो¥याउने तानावाना त बुन्यो तर त्यो सपना एउटा समान्य मान्छे जो धरानका लागि एक्लै हिडिरहेको थियो, हर्क साङपाङले विफल बनाई दिनु भयो ।  

धरानको राजनितिक इतिहासलाई फर्केर हेर्दा ०१७ सालमा नगरपालिका घोषणा भएसंगै बामपंथी उम्मेदवारहरु नै लगातार मेयर भएका छन । 

०४६ सालको जनआन्दोलन पछि संवैधानिक राजतन्त्रको पालामा ०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उमेदवार नै मेयरमा हुनु भएको थियो । ०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जित्नु भएको थियो । उहाँ दुवै जना एमालेबाट चुनाव जित्नु भएको थियो । वामपन्थी जितलाई निरन्तरता दिनु भयो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुव्वाले एमालेबाट जित्नु भएको थियो । 

०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउदा तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउनु भएको थियो । प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाउनु भएको थियो । 

धरानको कुल मतदाता १ लाख ३ सय २४ जना रहेकोमा ६२हजारलेमतदान गर्नु भएको थियो । यस पटक दुर्व दलहरुलाईपाखा लगाउदैं धरानेहरुले स्वतन्त्र उम्मेद्वारलाई मत दिनु भएको छ । 

को हुन हर्क साम्पाङ

हर्क साम्पाङ खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा आफ्नो स्थान बनाउन संघर्षरत पात्र हुनु हुनुहुन्छ । ०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका साम्पाङ त्यहीको शुक्रबारे माविबाट एसएलसी गरेर ०५६ सालतिर उच्चशिक्षा अध्ययन गर्न धरान झर्नु भएको थियो । उहाँले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गर्नु भएको छ । अध्ययनकै क्रममा उहाँले धरानमा एउटा ल्यांग्वेज सेन्टरमा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गर्नु भयो । त्यसमा पनि चित्त नबुझेपछि उहाँ अफगानिस्तान  जानु भयो । अफगानिस्तानबाट फर्किएर पुन इराक पनि जानु भयो । 

अफगानिस्तान र इराकमा ६ वर्ष काम गरेपछि उहाँ नेपाल फर्किनु भएको थियो । देश मै केही गर्नु पर्छ भनेर उहाँ सामाजिक काममा लाग्नु भयो । 

हर्क साम्पाङ अहिले मेयरमा लोकप्रिय मत ल्याएर विजय हासिल गर्न लाग्दैं गर्दा मात्र चर्चामा आएका व्यक्ति होयनन् । सामाजिक अभियानमा उहाँ निरनतर हुनुहुन्थ्यो । तर चर्चाभने कम थियो । उहाँले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घर जग्गा जोगाउने अभियानबाट उहाँको चर्चा शुरु भएको हो ।  सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाउनु भयो । यो अभियानले उहाँको परिचय फैलियो ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भएको थियो ।  भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो तर समस्या भने ज्युँका त्युँ रहयो । अहिले पनि धरानमा खानेपानीअभाव छ । उहाँले पहिलो पटक हिक्मत गरेर आयोजनाप्रति नै प्रश्न गर्न थाल्नु भयो ।  । खानेपानीमा कांग्रेस एमाले र माओवादीले गरेको बद्मासीबारे खुलेर विरोध गर्नु भयो । उहाँ एक्लै सडकमा उत्रनुभयो । विस्तारै अरुले साथ दिए । 

धरानको खानेपानी आयोजना, बीपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उहाँले आवाज बुलन्द पार्नु भयो । दलको कामबाट दिकदार भएका धरानेजनता फाट्टफुट उहाँको आन्दोलनमा साथ दिन थाले  । उहाँको आन्दोलनबारे ठूलो राजनीतिक दलहरुले कुनै भाउ दिएनन् । मिडियाहरुले पनि उहाँको मुद्वालाई चासोको साथ उठाएनन् । तर उहाँ निरन्तर खवरदारीमा लागि रहनु भयो । सतिसाल झै जनताका सानातिना समस्यामा उहाँ आवाज उठाइरदा आज अरुको साथ नपाए पनि धराने जनताको पूर्ण साथ पाउनु भयो ।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि अरु नै काम व्यस्त भएपछि असन्तुष्टि चुलिएको उहाँको बुझाई छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उहाँ बताउनु हुन्छ । तिनै दलहरका कार्यकर्ताको मत आफुले पाएको उहाँ बताउनु हुन्छ ।  ‘यो चुनावमा न मेरो कुनै संगठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिक रूपमा उठाएको छु । संघर्ष गरेको छु ।’–उहाँले भन्नु भयो–‘राजनीतिक दलहरुको कार्यशैलीबाट विरक्तिएका जनतालेमलाई मत दिनु भयो । धेरै कृतज्ञ छु ।’

०७४ को स्थानीय तहको चुनावमा उहाँ केवल मतदाता भएर मैदानमा हुनुहुन्थ्यो । ०७६ को उपचुनावमा उहाँ तिनै मुद्वा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बन्नु भयो ।  त्यसबेला ४४२ जनाले उहाँलाई पत्याएका थिए । तर उहाँ निराश भने हुनु भएन । सामाजिक, राजनीतिक र स्थानीय तह र सार्वजनिक संस्थामा हुने गरेका विकृति र विसंगतिविरुद्ध उहाँले निरन्तर प्रश्न उठाउनु भयो । र आज पनि उहाँको अभियान जारी छ । 

भारतले कालापानी अतिक्रमण गरेकोमा तीव्र आक्रोश पोख्दैं विरोध गर्नु भएको थियो ।  एमसीसीविरुद्ध पनि उहाँले आभाज उठाउनु भएको थियो । उही विचमा उहाँलाई देशविदेशमा बस्ने नेपालीहरुले चिने । विदेशमा बस्ने नेपाली दाजुभाइ र दिदीबहिनीको दवावमा यहाँ घरमा भएका धेरैले उहाँलाई सहयोग गनुृ भएको छ । 

राजनीतिक दल र नेताहरू सुध्रिनु पर्छ, भ्रष्टाचार, कमिसन र लुट शासनको अन्त्य हुनुपर्छ भन्ने उहाँको मान्यता रहेको छ । यस्ता विषयमा उहाँ निरनतरो फेसबुकमा लाइभ गदैं आउनु भएको छ । 

धरानको खानेपानीको व्यवस्थापन पहिलो जिम्मेवारी भएको उहाँ बताउनु हुन्छ । ‘सबै धरानलाई खानेपानी व्यवस्था गरे पछि मात्र मेरो जित हुन्छ । अहिले मैले केहीपनि जितेको छैन् ।’–उहाँ भन्नु हुन्छ । 

एकैचाेटी होइनन् साम्पाङ 

धरानका अगुवाहरुका अनुसार ३९ वर्षका हर्क साम्पाङ एकदशकदेखि धरानका सडकमा कहिले एक्लै कहिले सानो समुह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर सधै भेटिइरहने सामाजिक अभियन्ता हुन । 

उहाँले सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका मानिसहरुले पनि भू–माफियासँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । हर्क साम्पाङ पनि त्यसमा जोडिनु भएको थियो । धरानमा विद्रोही रुपमा जनताको मुद्वा बोकेर कृष्णनारायण पोलिखे हिडिरहनु भएको थियो । उहाँको मृत्यु भए पछि त्यो काम साम्पाङले गर्नु भयो ।

एकपछि अर्र्को सामाजिक अभियान चलाएका हर्क साम्पाङलाइृ जनताले यस पटक जनमत दिने मौका पाए । साम्पाङले धरानेले जिताउनैत आशा गनुृ भएको थिएन । तर लोकप्रिय मत दिनुहुन्छ भन्नेमा भने ढुक्कहुनु हुन्थ्यो । यो चुनावमा राजनीतिक दलहरुको विकल्प जनताले खोजे  ।

दलहरूप्रति जनताले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतपरिणाममा आएको धेरैको विश्लेषण छ । जनताका सपना ठूलो नभएको तर नेताहरूले नै ठूला सपना देखाएर पूरा नगर्दा निराशा छाएको थियो । ‘धरानले आफ्नो विद्रोही चरित्रलाई फेरि एकपटक प्रकट गरेको छ । धराने नागरिकहरूका आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राई मेयर र सङ्घर्षबाटै खारिएर आएका माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा उपमेयरमा निर्वाचित हुनुभएको छ ।’–मेहन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राही भन्नु हुन्छ–‘सत्ता बडो निर्मम हुन्छ । कुर्सीमा पुगेर सग्लो रूपमा फर्किने नेताहरू विरलै हुन्छन् । विरलै हुने तिनै नेताहरूको लहरमा आफूलाई उभ्याउन जितेकाहरु सफल हुनु पर्छ ।’ 

अब दलहरूले टिकट दिँदैमा जित्छ भन्न सकिँदैन । लोकतन्त्रमा मतदाताले मताधिकारमार्फत आफ्नो अभिमत व्यक्त गर्ने हुनाले अहिले त्यही नतिजाआएको उहाँ बताउनु हुन्छ । दलहरूले उम्मेदवार छनौट गर्दा पनि विवकेपूर्ण देखिएनन् । जनताले चाहेको, जनतामा भिजेको उम्मेदवार भएको हुनुपर्ने रहेछ भन्ने अहिलेमतादाताहरुले देखाएको उहाँलेबताउनु भयो । 

एमाले कांग्रेसका उम्मेद्वार जनताले नरुचाइएका कारण साम्पाङलाई रोजे धरानेले

 धरानमा एमालेबाट यसअघि उपमेयर हुनु भएकी मञ्जु भण्डारीलाई पार्टीले टिकट दिएको थियो । उहाँलाई आम पार्टी कार्यकर्ताले पनि मेयरको रुपमा रुचाएका थिएनन् । उहाँलाई प्रदेश वा केन्द्रको चुनावमा आउन कार्यकर्ताहरुले नै सुझाव दिएका थिए । तर मञ्जु आफै केन्द्रीय कमिटी सदस्य भएका कारण पहुचका भरमा टिकट ल्याउनु भयो । उहाँका श्रीमान मुरारी सुवेदीको पार्टी अध्यक्ष केपी ओलीसँग राम्रो हिमचिम भएका कारण मञ्जुले टिकट पाउनु भयो । उहाँलाई टिकट पार्टीले दिए पछि साम्पाङलाई अझ सजिलो भएकाे जानकारहरु बताउछन्यो ।  

यता नेपाली कांग्रेसका किशोर राई पनि विवादीत व्यक्ति भएका कारण जनताले रुचाएनन् । एमाले वा कांग्रेस दुवैबाट चाहेजस्तो मेयरको उम्मेद्वार नपाए पछि सामान्य एमाले कांग्रेसका भोर्टसहरु साम्पाङ तिर मोडिएको पाइन्छ । धरानमा ठूला भनिएका दुवै दलहरुले अलोप्रिय उम्मेद्वार अघि सार्नु नै मतदाताहरु स्वतन्त्र तिर मोडिएको यहाँको राजनीतिक विश्लेषकहरु बताउनु हुन्छ ।