धरान / स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदैछ । मौन अवधीमा चुनावी गतिविधी प्रचार प्रसार बन्देज लगाइएको छ । 

निर्वाचन आयोगले निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकेको हो । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म मौन अवधि लागु हुनेछ । मौन अवधिमा राजनीतिक दल, भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनहरुले राजनीतिक प्रचार, भेला, गोष्ठीहरु आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही व्यवस्था छ । 

मतदान स्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न पाइने छैन । त्यस्तो सामग्री राखिएको भए मौन अवधि सुरु हुनुअघि हटाउन आयोगले निर्देशन दिएको छ । यसैगरि, मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न, गराउन बन्देज गरिएको छ । 

मतदानका दिन शुक्रबार पनि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन पाइने छैन । उम्मेदवारको पहिचान देखिने सांकेतिक पोसाक, वस्तु लगाउन, बोक्न र देखाउन पनि पाइँदैन । कुनै पनि सवारी प्रयोग गरी आउजाउ गर्न वा कसैलाई लैजान वा ल्याउन पाइने छैन । 

सात महिनाभन्दा बढीकी गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताका लागि भने निर्वाचन अधिकृतले अनुमति दिएको सवारी प्रयोग गर्न छुट दिइएको छ । 

बैशाख २७ गते मध्यरातीदेखि मदिरा बिक्रीवितरणमा समेत स्थानीय प्रशासनले रोक लगाएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मंगलबार मध्यरातीदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाएको छ । 

elect