धरान  / लोकतान्त्रिक बाम गठबन्धनको अन्तिम चुनावी सभामा प्रमुख वक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धरान उपमहानगरपालिकाको चुनाव गठबन्धनले जितिसकेको बताउनु भएको छ । 

धरानको भानुचौकमा आज आयोजित आमसभामा उहाँले धरानको विकासको जिम्मा कसैले लिन नपर्ने धरानको विकासको जिम्मा अब किशोर राई र आइन्द्र विक्रम बेघाले लिने बताउनु भएको छ ।  गठबन्धनबाट मेयर, उपमेयरद्वयले सभामा गरेको प्रतिबद्धतालाई इमानदारी पूर्वक कार्यान्वयन गर्न उहाँले सुझावसमेत दिनु भयो । 

दुई तिहाइ बहुमत पाएर पनि केही गर्न नसकी आफ्नो सरकार आफै ढालेका पूर्व प्रधानमन्त्री ओलीको पार्टी एमालेले यसपालि स्थानीय तहको चुनावमा राष्ट्रिय सभाको चुनावमा भोग्नु परेको हविगतकै परिणाम भोग्नु पर्ने कार्कीले बताउनु भयो । ‘गठबन्धनले राष्ट्रिय सभाको २१ सिटमा २० सिट जितेर एमालेलाई १ सिटमा सीमित गरिदिएको अवस्था जस्तै स्थितिमा पुर्‍याउन जनता लागेका छन् ।’–कार्कीले भन्नु भयो । 

यसपालिको स्थानीय निर्वाचनमा ५ दलिए सत्ता गठबन्धनले नेपालका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मेयर र उपमेयरमा गठबन्धन गरेको छ । गठबन्धनको उम्मेदवारहरूसँग एमालेले एक्ले प्रतिस्पर्धा गरिरहेको अवस्था छ।

 सभामा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईले धरानको विकासका लागि गठबन्धनको मार्गचित्र सहितको प्रतिबद्धताहरू बुँदागत रूपमा प्रस्तुत गर्नु भएको थियो । उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाले गठबन्धनको विजयलाई अब एमालेले रोक्न नसक्ने बताउनुभयो । जनता समाजवादीको नगर अध्यक्ष ताजुब लिम्बुले स्वागत भाषण गरेको सभामा काँग्रेसका नगर सभापति श्याम पोखरेलले धरानको चुनावमा गठबन्धनका उम्मेदवारहरूको राजनीतिक परिचय प्रस्तुत गर्नु भएको थियो ।