काठमाडौं / आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ ।  निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ । चुनाव सम्पन्न भएपछि साँझ ६ बजे आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले ३२ वटा जिल्लामा निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।

मतपेटिका जिल्ला सदरमुकाममा ल्याउने काम भइसकेको छ ।  । उच्च हिमाली र विकट क्षेत्रका मतपेटिका भने सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइदैछ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको निर्वाचन भएको हो । १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् । बाँकी ४५ जिल्लामा भने मंसिर २१ गते निर्वाचन हुँदैछ ।
यता गृह मन्त्रालयले पनि  प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जनाएको छ । मन्त्रालयले आईतबार नै  विज्ञप्तिमार्फत पहिलो चरणको निर्वाचन अत्यन्त उल्लासपूर्ण र शान्तिपूर्ण वातावरणमा आममतदाताको सहभागितामा सम्पन्न भएको जनाएको छ ।