धरान । आसन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी अभियान जारी छ । 

मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट किशोर राई उठ्नु भएको छ । उपमेयर पदमा माओवादी केन्द्रको तर्फबाट अईन्द्र विक्रम बेघा मैदानमा हु्नुहुन्छ । दुबै जना उम्मेद्वारप्रति धरानमा जनताको विश्वास बढ्दै गएको छ । शुक्रबार धरान १७ स्थित पटनालीका बासिन्दाले लोकतान्त्रिक गठबन्धनलाई यस पटक भोट लगाउने प्रतिवद्धता जनाएका छन् । 

उनीहरुले गठबन्धनका मेयर र उपमेयरका प्रत्यासीलाई पटनालीको विकासको लागि महत्वपूर्ण भूमिका खेल्न सुझाव दिनु भएको छ । कांग्रेस नगर सभापति श्याम पोख्रेलले एमालेसँग रुष्ट भएर मतदाताहरुले यसपटक लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा मत लगाउने बताउनु भयो । ‘अहिले एमाले आफूले गरेका पहिलेका गल्तिहरुमा सच्याउँदा सच्याउँदै उसको दिन बितिरहेको छ भने हामी गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्दै अब आगामी दिनमा बाँकी रहेका कामहरुलाई अगाडी बढाउने गरि यो लोकतान्त्रिक बाम गठबन्धन लागेको छ ।’–उहाँले भन्नु भयो । 

घरदैलो कार्यक्रममा मेयरका उम्मेद्वार किशोर राईले पटनाली मात्र नभई धरानको विकास र समृद्धीको लागि लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गनुृ भयो । धरानमा भ्रष्टाचारमुक्त, जनताले अपेक्षा गरे अनुसारको सुनिश्चितता, विभिन्न समस्याहरुको बारेमा धरानलाई दिर्घकालिन रुपमा अगाडी बढाउनका लागि पनि लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउनु पर्ने उहाँको भनाई छ ।