सुन्दरहरैंचा । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताउनु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेद्धारसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताउनु भएको हो ।
सुन्दरहरैंचाका कतिपय स्थानमा वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेद्धार प्रस्तुत भएको बताउँदै यस्ता उम्मेद्धारलाई पार्टीले कारबाही गर्ने बताउनु भयो । नेपाली काँग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उम्मेद्धारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसै अनुसार कारबाही गर्छ । उहाँले भन्नु भयो, –‘जो ती उम्मेद्धारको पछि लाग्छ उनीहरूलाई नि नोटिसमा राख्नुपर्छ ।’
नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेद्धारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनु भयो । अन्तरक्रिया कार्यक्रममा सहभागी उम्मेद्धारहरुले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङ सचिव जितेन्द्र गोल्छा महाधिवेशन प्रतिनिधि निरञ्जनप्रसाद रिजाल, क्षेत्र ६ क’ का सभापति दीपक भगत लगायतको उपस्थिति रहेको थियो ।