धरान  / धरानमा लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियानलाई तिव्रता दिएको छ । मेयरका उम्मेद्वार किशोर राई, उपमेयरका उम्मेद्वार आइन्द्र विक्रम बेघासहितको टोली जनताको घर घरमा पुग्नु भएको छ । घर दैलो कार्यक्रममा जनताका प्रतिक्रिया र गुनासाहरु पनि सुन्नु भएको छ । 

 चुनावको घरदैलो कार्यक्रमको क्रममा धरान ६ पानवारीका  देवेन्द्र दाहालले भने सबै दलहरू समावेश हुनु सबैका लागि राम्रो पक्ष भएको बताउनु भएको छ । उहाँले भन्नु भयो–‘विगतमा  उपमहानगरपालिकामा कर्मचारीतन्त्र हाबी भएको थियो, मनोमानी ढङ्गले कार्यपालिकामा निर्णयहरू गर्ने गरेको, प्रतिपक्ष नहुँदा उनीहरूको मनोबल बढ्दा जथाभाबी निर्णयहरू गर्ने गरेको पाइएको थियो । गठबन्धन त्यस ठाउँमा पुग्यो भने त्यस्तो अराजकता हुँदैन, त्यसैले हामीले गठबन्धनलाई जिताउनुपर्छ ।’  

यस्तै धरान १७ का कमल रार्ईले उपमहानगरपालिकामा एकलौटी वर्चस्व तोड्न पनि  गठबन्धनको नेतृत्वलाई जिताउन आवश्यक रहेको बताउनु भएको छ । 

सबै दलको प्रतिनिधित्व हुँदा सबैले अवसर पाउँछन् भने स्वास्थ्य प्रतिस्पर्धा हुन्छ । सबै पार्टीको योगदान आफ्नो आफ्नो ठाउँमा होला सबैलाई  नेतृत्व गर्नु पनि मन होला जसका लागि  स्थानीय तहको यो गठबन्धन हामी विकास खोज्नेहरूको लागी अवसर भएको स्थानीय विनोद आले मगर  बताउनु हुन्छ । डिबी भट्टराईले  हाम्रालाई नहेरी राम्रा नेतालाई जनताले रोज्ने बताउनु भयो ।  

‘हामीले सबै कुराको अनुभव गर्नु पर्छ  त्यसैले हामी गठबन्धनलाई रोजेका छौ । आशा छ  धेरै दलको  मान्छे हुँदा जनसरोकारका र जनवृद्धिका कामहरू हुन्छन् यदि भएन भने पनि हामी आवाज उठाउन सजिलो  हुन्छ ।–अर्का स्थानीय निश्चल पलिखेले भन्नु भयो । धरानमा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।