विराटनगर / नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार बनाएका सागर थापा नेकपा एमाले विराटनगर महानगरका अध्यक्ष हुनुहुन्छ ।

विराटनगरमा रहेर लामो समयसम्म पार्टीको सक्रिय राजनितिमा रहनुभएका थापा युवाहरुका माझमा लोकप्रिय हुनुहुन्छ । सामान्य जीवनयापन र महानगरका हरेक घर पुग्ने नेताका रुपमा परिचित थापा बुवा चन्द्रबहादुर थापा र आमा कमला थापाका कान्छो छोराको रुपमा २०३३ साल साउन ३ गते जन्मनु भएको हो ।

विद्यालयदेखि नै राजनितिमा सक्रिय थापाले पार्टीका विभिन्न तहमा रहेर आफ्नो सफल नेतृत्व दिँदै आउनुभएको छ । विराटनगर महानगरपालिका– ४ निवासी थापाले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी कमिटीको सेल सचिव, इलाका कमिटीको सदस्य हुँदै दुई दुई कार्यकाल स्ववियू सभापति बन्नुभएको थियो ।

२०५७ देखि २०६० र २०६० देखि२०६२ सम्म स्ववियूको नेतृत्व गर्नुभएका थापा युवा र विद्यार्थीका लागि निकै लोकप्रिय र निडर नेताका रुपमा परिचित हुनुहुन्थ्यो । सधै सक्रिय राजनितिमा रहँदै आउनुभएका थापा २०६२/०६३ को जनआन्दोलन ताका पटक पटक प्रहरीको गिरफ्तारमा पर्नुभएको थियो भने शाहिकालको आन्दोलनकै क्रममा पक्राउ परि उहाँले २८ दिन जेल जीवन समेत व्यतित गर्नुपरेको छ ।

नेकपा एमालेका विभिन्न कमिटीमा रहेर नेतृत्व गर्नुभएका थापा नेकपा एमाले महानगर कमिटिको इन्चार्ज, संयोजक र अध्यक्ष हुँदै लगातार १२ वर्षदेखि महानगरमा पार्टीको नेतृत्व गर्दै आउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यको समेत जिम्मेवारी पूरा गर्नुभएका थापाले प्रदेश कमिटी सदस्य समेतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । थापाले जति पनि निर्वाचन भाग लिएपनि इतिहासमा हारेको छैन ।

शिल्पा निराला कार्की (उपप्रमुखको उम्मेदवार)

नेकपा एमालेले विराटनगर महानगरपालिकाको लागि उपमेयर (उपप्रमुख)को उम्मेदवार बनाएकी शिल्पा निराला कार्की नेकपा एमाले विराटनगर महानगर कमिटीकि उपाध्यक्ष हुनुहुन्छ ।

बुवा स्व।गोपाल बहादुर निरौला र आमा रिता निरौला कि चार सन्तानमध्येकी कान्छि छोरीको रुपमा विक्रम संम्वत २०३५ साल मंसिर १४ गते सिरहाको लाहानमा जन्मनुभएकी कार्की २०५७ सालमा उद्योगी तथा नेकपा एमालेका नेता गिरेन्द्र कार्कीसँग वैवाहिक बन्धनमा बाँधिनुभएको हो ।

राजनिति शास्त्रमा स्नातकोत्तर अध्ययनरत कार्कीले विद्यालय शिक्षा लहानबाट र त्यसपछि महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसबाट स्नातक गर्नुभएको हो । भने काठमाडौंको आईईसिबाट फेसन डिजाईनिङमा समेत स्नातक गर्नुभएको छ । विभिन्न संघसंस्थामा नेतृत्व गर्दै आउनुभएकी कार्की समाजिक सेवामा अग्रपंक्तिमा उभिँदै आउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको जिल्ला अध्यक्ष तथा महासंघकै महिला समितिको प्रदेश १ संयोजक रहेर नेतृत्व गरिसक्नु्भएको छ ।

यस्तै रोटरी, योगमाया फाउण्डेशनलगायतका विभिन्न संघसंस्थाको नेतृत्व गर्नुभएकी कार्कीले जनपथ मावि व्यवस्थापन समिति सदस्यका रुपमा समेत भूमिका निर्वाह गर्नुभएको छ । कोशी अस्पताल विकास समितिको सदस्य समेत हुनुहुन्छ ।

२०६० सालबाट नेकपा एमालेको सक्रिय राजनितिमा रहनुभएकी कार्की अखिल नेपाल महिला संघमा आवद्ध भएर पार्टीको वडा सदस्य हुँदै अहिले विराटनगर महानगर कमिटीको उपाध्यक्ष रहनुभएको छ । सधै इमान्दर र पारदर्शि हुनुपर्छ भन्ने मान्यता राख्ने कार्की युवाले नेतृत्व लिनुपर्छ र उदाहरणीय महानगर बनाउनुपर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो ।