ंधरान / यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको  सुरक्षाका लागि सुनसरीमा ४ हजार ७६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

जिल्लाका १ सय ६६ मतदान स्थल मध्ये ४४ अतिसंवेदनशिल, ८० संवेदनशील र ४२ सामान्यको सुचीमा रहेका छन् । सुरक्षा चुनौती रहेका मतदान स्थलमा अवस्था हेरेर सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो । 

आइतबार सबै स्थानीय तहमा उम्मेद्वारीको दर्ता कार्यक्रम रहेको छ । आइतबारदेखि नै प्रहरी परिचालन गरिने एसपी थापाले जानकारी दिनु भयो । 

निर्वाचन लक्षित सुरक्षाका लागि स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुसार सुरक्षाकर्मी परिचालन हुनेछन् । जसमा १ हजार १ सय ६६ जना नेपाल प्रहरी, ५ सय १२ जना सशस्त्र प्रहरी, ३ सय ३० जना नेपाली सेना र २ हजार ६८ जना म्यादी प्रहरी सुनसरीमा खटिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । पहिलो घेरमा जनपथ प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना परिचालिन गरिने छ । 

सुरक्षाका चुनौतीसँगै व्यवस्थापकीय चुनौतीलाई आकलन गरेर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्ला स्तरीय सुरक्षा एकीकृत गरी जोखिम र अतिसंवेदनशिल, संवेदनशील सुचीमा परेका मतदान स्थलहरूको अवस्था हेरेर संयुक्त सुरक्षाकर्र्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । 

१२ वटै स्थानीय तहमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय सुरक्षाका लागि ८ गते नै ५÷५ जना प्रहरी खटाइएको छ । प्रजिअ यादवका अनुसार समग्र निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि दुई उपमहानगर धरान र इटहरी  डिएसपीको कमाण्डामा खटाइएको छ । ८ स्थानमा इन्स्पेक्टरको कमाण्डमा र दुई स्थानमा सईको कमाण्डमा पचिालन गरिएको छ । यस्तै सशस्त्र प्रहरीको दुई उपमहानगरमा डिएसपीको कमाण्ड र वाँकी १० स्थानमा इन्स्पेक्टरको कमाण्डमा परिचालन गरिएको उहाँले जानकारी दिनु भयो ।   

एक पालिकामा २ मोबाइल टोली संयुक्त सुरक्षा फौज १४ जनाको टोली रहने व्यवस्था गरिएको छ । सशस्त्र प्रहरीको थप सहयोगका लागि अर्को रिर्जव टोली पनि रहने बताइएको छ । सयक्तु सुरक्षा टोलीमा तीन स्थानमा ३३० जना परिचालन गरिएको छ । विभिन्न स्थानमा मोवाइल टोलीको रुपमा परिचालित हुने छन् । ‘यो सुरक्षा योजना उम्मेद्वारी मनोनयनसम्माका लागि हो । पछि मतदान स्थानमा मतपत्र लैजान, ल्याउने र संकलन गर्ने काममा थप सुरक्षा नीति बनाउछौं । सुनसरीमा भयरहित वातावरणमा निर्वाचन गराउछौं ।’–प्रजिअ यादवले भन्नु भयो ।