धरान / नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा धरान उपमहानगरपालिकाका मेयरका आकाक्षी मोतिराज सुनुवारले केन्द्रीय कमिटीमा सिफारिश भएका नेताहरु मध्ये जसले टिकट पाए पनि सबै मिलेर जिताउने अभियानमा एमाले रहेको बताउनु भएको छ । 

 शुक्रबार धरानमा निर्वाचन परिचालन मुल कमिटीको घोषणा कार्यक्रमलाई उहाँले धरानमा २०४८ पछिको निर्वाचनमा एमालेले जितेको र राम्रो काम गरेको पनि स्मरण गराउनु भयो । उपनिर्वाचनमा कांग्रेसले जिते पछि धरानको विकासको गति रोकिएको उहाँको भनाई थियो ।

धरानको मेयरमा नेता सुनुवारसहित उपमेयर मञ्जु भण्डारी, मनोजकुमार मेन्याङ्बो र विजय राई प्रदेश कमिटीबाट केन्द्रमा सिफारिस भएको छ । चार मध्य जो आए पनि धरान हाक्ने योग्य नेता भएको उहाँले बताउनु भयो ।   पार्टीले मेयरको टिकट जसलाई दिए पनि हर्षोल्लासका साथ जिताउ अघि बढ्ने उहाँले बताउनु भएको छ ।  

धरानको समग्र समस्याहरुबारे एमालेका वडा तहसम्मलाई जानकारी भएको र समस्या समाधान गर्न हरेक ठाउँमा एमाले उपस्थित हुने उहाँको भनाई थियो । धराने जनताको यस पटकको रोजाई एमाले हुने भन्दैं सबै नेता कार्यकर्ता जनताको काममा लाग्न उहाँले आग्रह गर्नु भएको छ ।

 एमालेलाई जिताई पुरानो साँख फर्काउन शुक्रबार प्रदेश सचिवालय सदस्य मुरारी सुवेदीको संयोजकत्वमा  ११ हजार २७५ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कमिटीले टोल टोलमा पुगेर अभियान शुरु गरी सकेको नेताहरुले बताएका छन् ।