धरान  / नेकपा एमाले प्रदेश १ ले स्थानीय निर्वाचनका लागि एक महानगर र दुई उपमहानगरका प्रमुख र उपप्रमुखका आकांक्षीको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिश गरेको छ।

विराटनगर महानगरपालिका र २ उपमहानगरपालिका इटहरी र धरानमा पार्टीका तर्फबाट आकांक्षी उम्मेदवारको अन्तिम नामावली केन्द्रीय समितिमा सिफारिश गरिएको नेकपा एमाले प्रदेश कमितिले जनाएको छ । 

विराटनगर महानगरपालिकाका लागि महानगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको छ । नगर र जिल्लाबाट आएको नामबाट प्रदेशले केन्द्रलाई सिफारिस गरेको हो ।  केन्द्रीय सदस्य तथा प्रदेश सांसद एवं पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेको नाम प्रदेश कमिटीले रायसहित पठाएको प्रदेश कमिटीका सह–इञ्चार्ज विनोद ढकालले जानकारी दिनु भएको छ ।  स्थानीय तहको पार्टी कमिटीले घिमिरेको नाम सिफारिस गरेको थिएन । 

विराटनगर महानगरपालिकाको उपमेयरमा शिल्पा निराला कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा)को नाम सिफारिश गरिएको छ।

धरान उपमहानगरमा वर्तमान उपमेयर मन्जु भण्डारी, पूर्व नगर प्रमुख मनोज मेयाङ्बो, मोतिराज सुनुवार, विजय राईको नाम सिफारिस गरेको छ । उपमेयरमा वर्तमान उपमेयर भण्डारीसहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशीला पहाडीको नाम सिफारिश गरिएको छ। स्थानीय कमिटीले ११ जनाको नाम मेयरमा र ६ जनाको नाम उपमेयरमा सिफारिस गरेको थियो ।

इटहरी उपमहानगरमा नगर अध्यक्ष यामकुमार सुब्बा, वर्तमान मेयर द्वारिकलाल चौधरी, वर्तमान उपमेयर लक्ष्मी गौतम, पार्टीका केन्द्रीय सदस्य तैयव हुसेन र रामप्रसाद चौलागाईंको सिफारिश गरिएको छ। उपमेयरमा संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, बिष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिश गरिएको छ ।

बैशाख ३० गते हुने निर्वाचनका लागि महानगर र उपमहानगरको अन्तिम निर्णय केन्द्रीय समितिले गर्नेछ।