विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारहरूको नाम छनौट गरेको छ ।  मेयरका लागि केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला, अमृत अर्याल सहित ७ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको हो।

यस्तै जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईँको नाम सिफारिस भएको छ ।

अर्का केन्द्रीय सदस्यहरू बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको महानगर समितिले जनाएको छ । 

उपमेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमीला गच्छदार, प्रमीला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

महानगर समितिले यसअघि नै विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो । केन्द्रले नै महानगरको भागबण्डाको टुंगो लगाउने बताइरहेका बेला महानगर समितिले मेयर र उपमेयर उम्मेदवारका लागि नाम सिफारिस गरे पछि महानगरमा गठबन्दधन धरापमा परेको छ । 

नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा शनिवार गठबन्धनको बैठक चलिरहेका बेला कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि अन्य गठबन्धन दलका नेताहरू बैठक छाडेर हिँडेका थिए । 

२०७४ को मत परिणामअनुसार महानगरका सबै वडाध्यक्षको मत जोड्दा कांग्रेसको १६ हजार ७६६ मत हुन्छ । यस्तै एमालेको १६ हजार २१८, संघीय समाजवादी फोरमको १० हजार ९३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४५२ छ ।

लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएसँगै कांग्रेसको मत अब २१ हजार ८ सय ६० मत पुग्ने छ । विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले एउटा वडामा जितेका थिए ।

त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए ।

विराटनगर महानगरपालिकामा यस पटक १९ हजार ३८१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार मतदाताको सङ्ख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेक छ।