चितवन ।  भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको भन्दैं वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजिनामा दिँएका छन् । उनीहरुले स्वतन्त्र अभियान घोषणा समेत गरेका छन् । 

बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । 

प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजिनामा दिएर देश र जनहितको कामका लागि सधैँ लागि रहने अठोट गरेका छन् । 

 केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय समेत गरेको थियो ।  भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको थियो ।