विराटनगर /  प्रेस चौतारी प्रदेश १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई व्यवस्थित र ब्यापक बनाउने भएको हो ।   

एमाले प्रदेश नं. १ कमिटी प्रचार विभागको आयोजना र प्रेस चौतारी नेपाल १ नम्वर प्रदेश कमिटीको ब्यवस्थापनमा आज विराटनगरमा सम्पन्न प्रचार भेलालेले ९ बुँदे प्रतिवद्धता पनि जारी गरेको छ । केन्द्रीय प्रचार विभाग र जिल्ला स्तरका सूचना डेक्सहरुसँग समन्वय गरी सञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण गर्न प्रतिवद्धताका साथ लागि पर्ने, एमाले केन्द्रीय कमिटी, जिल्ला र पालिका कमिटीले तयार पारेका घोषणापत्रका मुख्य–मुख्य र महत्वपूर्ण बुँदाहरुलाई प्राथमिकताका साथ प्रकाशन÷प्रशारण गर्ने, पालिकाहरुले निर्माण गर्ने घोषणापत्रलाई सञ्चार मैत्री बनाउन सुझाव दिने लगायतका प्रतिबद्धता जारी गरिएको छ । 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज विक्रम लुइटेलले प्रदेश १ को मिडियाको अवस्थाबारे जानकारी गराउनु भयो । उहाँले चौतारीको आगामी कार्यभारबारे पनि जानकारी गराउनु भएको थियो । 

प्रदेशस्तरिय प्रचार भेलामा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज देवराज घिमिरे, केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारी नेपाल अध्यक्ष गणेश वस्नेत, महासचिव हिरामान लामा, केन्द्रीय प्रचार विभाग सदस्य चेतन अधिकारी, एमाले प्रदेश १ प्रचार विभागका प्रमुख घनस्याम खतिवडालगायतका नेताहरुले चौतारी र पार्टीविचको सम्बन्धबारे उल्लेख गर्नु भयो ।