धरान / नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा परिवर्तनका लागि सामाजिक अभियानले धरानको प्रमुख आकर्षणको रुपमा रहेको धरानको मठमन्दिर, कला–संस्कृति र एडभेन्चरको भिडियो क्लिप निर्माण गरेको छ । कोभिड पछि बामे सर्न थालेको धरानको पर्यटनको प्रवद्र्धन गर्न भिडियो निर्माण गरेको हो । नेपाल र विशेष गरि भारतको पश्चिमबङ्गाल र बिहारमा फेसबुकको पेज, टिकटक र इन्टाग्रामबाट सो क्षेत्रहरुको प्रवद्र्धन गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताउनु भयो ।  

“धरानका पर्यटकीय क्षेत्र, कलासंस्कृति र एडभेन्चरको छोटो भिडियो निर्माण गरेका छौं, फेसबुक, इन्टाग्राम र टिकटकबाट प्रवद्र्धन गर्छौं । पक्कै पनि यो प्रयोगले धरानआउने पर्यटकहरुको संख्यामा बृद्धि हुनेछ” बरालले भन्नु भयो । अत्याधुनिक प्रविधि प्रयोग गरेर छायाङ्कन र सम्पादन गरिएको सो भिडियो क्लिपमा बुढासुब्बा मन्दिरको १ मिनट ३६ सेकेण्ड, दन्तकाली मन्दिरको २ मिनेट ८ सेकेण्ड, पिण्डेश्वर मन्दिरको २ मिनेट १७ को रहेको छ । त्यसै गरि धरानको विभिन्न संस्कृति र एडभेन्चरको भिडियो पनि सम्पादनको क्रममा रहेको अभियानका अध्यक्ष विष्णु बरालले बताउनु भयो । 

 धरानको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र नै रहेको र सो क्षेत्रको प्रवद्र्धन गर्न धरानेहरु लागि पर्नुपर्ने बराल बताउ“नु हुन्छ । 

धरान पर्यटकीय क्षेत्रको हव मानिन्छ । ऐतिहासिक विजयपुरगढी, विष्णुपादुका, चिण्डेडाँडा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्कोन मन्दिर, हर्दिया, शुलिकोट, साँगुरीगढी, भेडेटारलगायत यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन् । विजयपुरमा पिण्डेश्वर मन्दिर, बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर र पञ्चकन्या मन्दिरको आ–आफ्नै विशेषता रहेको छ । प्रचार प्रचारको अभावमा ति गन्तव्यहरु ओझेलमा परेका छन् ।