धरान  / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले आफुहरुका निम्मनतम माग प्रति बेवास्ता गरिएको भन्दैं प्रशासनलाई ध्यानाकर्षण गराएको छ । 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई सोमबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।  आफुहरुले विगतमा उठाएका मागहरुको सम्बोधन गर्न प्रतिष्ठान नेतृत्व जिम्मेवार नभएकाले पुन ध्यानाकर्षण गराइएको समाजले जनाएको छ । 

नेपालमै चिकित्सा शिक्षाको क्षेत्रमा उत्कृष्ट भूमिका निर्वाह गरेको प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको महत्त्वपूर्ण योगदान रहेको माग पत्रमा उल्लेख छ।

विगत केही वर्ष देखिनै यस समाजले प्रतिष्ठानमा कार्यरत शिक्षकको मागहरूलाई लिएर पटक पटक उपकुलपति समक्ष माग पत्र बुझाइसकेको तर सो मागहरू पूरा गर्ने तर्फ कुनै पनि प्रगति नभएकोले चिकित्सक शिक्षकहरू निरुत्साहित भई पलायन समेत हुने क्रम जारी रहेको उनीहरुले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । 

समाजले ती मागहरू प्रति ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा कार्यरत चिकित्सक शिक्षकहरूको मनोबल उच्च राख्न र पलायन हुनबाट रोक्न यथाशीघ्र ती मागहरू सम्बोधन गर्नु पर्ने समाजका अध्यक्ष डा. अरुणकुमार सिंहले बताउनु भयो । 

समाजका अध्यक्ष डा.सिंह र महासचिव डा. आरती शर्माद्वारा हस्ताक्षर गरिएको माग पत्रमा प्रतिष्ठानमा कार्यरत चिकित्सक शिक्षकहरूको वर्षौ देखि बढुवा नभएको हुँदा योग्यता पुगेका सम्पूर्ण चिकित्सक शिक्षकहरूको यथाशीघ्र बढुवा गरिनुपर्ने, करारमा रहेका एसआर फ्याकल्टीहरूलाई यथाशीघ्र पदोन्नतिको व्यवस्था गरिनुपर्ने, प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीहरूको छोरा÷छोरीले प्रतिष्ठानको विभिन्न शिक्षा कार्यक्रमहरूमा पाउने गरेको सिटहरू पुनः यथाशीघ्र सुचारु गरिनुपर्ने, कोभिडको कारणले बन्द भएको एनुअल ग्रान्ट पुनः सुचारु गरिनुपर्ने र प्रतिष्ठानमा बिकराल बन्दै गएको पानीको समस्याको दीर्घकालीन समाधानको लागि तत्काल व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै उपकुलपति गिरीले चिकित्सक, शिक्षकहरुको माग चाढे पुरा गरिने बताउनु भएको छ ।