धरान / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि धरान उपमहानगरपालिकको मेयरमा नेकपा एमाले धरान उपमहानगर कमिटीले ११ जना आकांक्षीहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको छ । यस्तै उपमेयर पदमा ६ जना आकांक्षीहरुको नाम सिफारिश गरेको छ । 

आज बसेको उपमहानगर कमिटीको पूर्ण बैठकले मेयर पदमा मन्जु भन्डारी, मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस गरिएको छ । पार्टीको पदिय जिम्मेवारी अनुसार नाम लिष्टिङ गरिएको बताइएको छ । 

मेयरमा सिफारिश हुने उम्मेद्वारका आकांक्षीहरुमा  एक नम्बरमा रहेकी मञ्जु भण्डारी केन्द्रीय कमिटी तथा धरानकी उपमेयर रहनु भएको छ । मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य रहनु भएको छ ।  यस्तै, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला जिल्ला कमिटी सदस्य र तीर्थ मास्के पूर्वजिल्ला कमिटी सदस्य रहनु भएको छ । 

यसैगरि, उपमेयरमा  पदम इस्वो, शुसिला पहाडी, लहरु जिमी,   इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर इञ्चार्ज नारायण सुवेदीले जानकारी दिनु भयो । 

उपमहानगरको हकमा उपमहानगर, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले उम्मेद्वार छनोट गर्ने प्रावधान एमालेले बनाएको छ । जिल्ला, प्रदेशले नाम छाटकाट गरेर तीन जनाको केन्द्रमा पठाउने छ ।