विर्तामोड / नारी सञ्चारगृह झापाले आशन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर विहीबार विर्तामोडमा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुखसँग अन्तक्र्रिया गरेको छ । 

जिल्लामा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा महिलाको नेतृत्व स्थापित गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएका छन् । ‘प्रमुख पदमा महिला सहभागिता र राजनीतिक दलको भूमिका’ विषयक अन्तक्र्रियामा नेकपा(एमाले) झापाका अध्यक्ष दीपक कार्कीले चार वटा पालिकामा महिलालाई प्रमुख पदका लागि टिकट दिने विषयमा पार्टीले छलफल चलाइरहेको बताउनुभयो । 

उहाँले विपक्षी दलका उम्मेदवार हेरेर पार्टीले प्रमुख पदमा उम्मेदवार चयन गर्ने परिपार्टीका कारण सक्षम र दक्ष महिलालेसमेत टिकट नपाउने गरेको बताउनुभयो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपक तामाङले पार्टीभन्दा पनि व्यक्तिको पहुँच र छवि हेरेर टिकट दिँदा महिलाले कम अवसर पाएको बताउनुभयो । उहाँले जित्ने महिला उम्मेदवार हेरेर पार्टीले मुख्य पदमा टिकट दिइने बताउनुभयो । 

कार्यक्रममा सङ्घीय सांसद धर्मशीला चापागाईंले महिलालाई प्रमुख पदमा लैजानका लागि जिल्लामा कहिल्यै पनि अन्तरदलीय छलफल नभएको बताउनुभयो । उहाँले पुरुष र महिलाबीचको खाडल पुर्ने अवसर आगामी निर्वाचन भएको हुँदा अधिकांश पालिकामा महिलालाई सबै दलले प्रमुख पदमा टिकट दिन आवश्यक रहेको औँल्याउनुभयो । 

आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट अर्जुनधारा नगरपालिकामा प्रमुख पदको आकाङ्क्षी रहनुभएकी सरस्वती सिटौलाले महिला नेता मात्र नभई नेतृत्व गर्न सक्षम भएको हुँदा प्रमुख जिम्मेवार दिइनुपर्ने बताउनुभयो । 

महिला नेत्री शारदा शर्माले दलले महिलाको क्षमतालाई नजर आन्दाज गरेमा जुनसकै पार्टीबाट उठेका भए पनि महिलालाई मत दिएर विजयी गराउनसके मात्र महिलाको नेतृत्व स्थापित गर्न सकिने बताउनुभयो । 

कार्यक्रममा अधिकांश जनप्रतिनिधिले पाँच वर्षमा महिला राजनीतिकर्मीले पालिकामा उपप्रमुख र वडा सदस्यका रुपमा काम गरेको अनुभवका आधारमा आगामी वैशाख ३० गतेको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन् । 

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले देशभरि महिलाले चलाएका पालिका उत्कृष्ट भएको उदाहरण पेश गर्दै आगामी निर्वाचनमा महिलालाई प्रमुख पदमा टिकट दिन दललाई आग्रह गर्नुभयो । 

प्रमुख पदकी आकाङ्क्षीसमेत रहनुभएकी उहाँले दलहरूका पुस्तक, नीति कानुनका ठेलीमा लेखिएका अधिकारलाई प्रत्यक्षरूपमा लागू गरेर आगामी निर्वाचनमा देखाउन दलहरूलाई चुनौती दिनुभयो । 

चार वर्षसमेत वडा सदस्यमा काम गरेका अधिकांश महिलाले वडाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । जनप्रतिनिधि महिलाले जिम्मेवारी पाए निर्भयतापूर्वक बहन गर्नसक्ने सामथ्र्य भए पनि चुनाव खर्चिलो हुने हुँदा आर्थिक अभावमा चुनाव लड्न नसकिने बताए ।

नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीले व्यक्तिगत पहुँचका आधारभन्दा पनि क्षमता र दक्षताका आधारमा महिलालाई प्रमुख पदमा टिकट दिलाउने राजनीतिक दललाई आग्रह गर्नुभएको थियो । 

जिल्लामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलले वडाबाट उम्मेदवार चयन सुरु गरिसकेका छन् । कार्यक्रममा निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गरेर जाने सङ्केत देखिएको भन्दै अधिकांश वक्ताहरूले महिला प्रतिनिधिको सङ्ख्या घटाउने हो कि भन्ने आशङ्का व्यक्त गरेका थिए ।