धरान / सुनसरीमा १ लाख १३ हजार ६ सय ६ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।  

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५ जना मतदाता रहेका छन् । गत २०७४ को स्थानीय तह निर्वाचनमा सुनसरीमा ४ लाख २१ हजार १ सय ५९ मतदाताले निर्वाचनमा भाग लिएका थिए । 

निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारी अनुसार सुनसरीमा सबै भन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा र कम मतदाता बर्जू गाउँपालिकामा रहेका छन् । 

सुनसरीको १२ पालिका मध्ये धरानमा २०७४ सालमा ७९ हजार २ सय ८२ जना मतदाता रहेको थिए । २०७८ मा २१ हजार ४२ जना थपिएर १ लाख ३ सय  २४ जना मतदाता थपिएको निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिन् भयो । धरानमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या बढी रहेको उनले बताए । २०७४ मा ७७ हजार ६ सय ७७ जना मतदाता रहेको इटहरीमा मा यस पटक २६ हजार ९ सय ४९ जना मतदाता थपिएका छन् । इटहरीमा पनि पुरुष भन्दा महिला मतदाताको संख््या बढी रहेको छ । पुरुष ४९ हजार ९ सय २५, महिला ५४ हजार ७ सय रहेको छ । 

यस्तै बर्जू गाउँपालिकामा २०७४ मा १८ हजार ५ सय ६४ जना मतदाता रहेकोमा २०७८ मा २२ हजार ४ सय ६७ जना मतदाता पुगेका छन् ।  २०७४ मा ७७ हजार ६ सय ७७ जना मतदाता रहेकोमा यस पटक २६ हजार ९ सय ४९ जना मतदाता थपिएका छन् । 

निर्वाचन कार्यालयका अनुसार सुनसरीमा यस पटकको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट १ जना र रामधुनी नगरपालिकाबाट १ जना यौनिक तथा अल्पसंख्यक समूहका व्यक्ति पनि मतदाता सूचीमा परेका छन् ।  

सुनसरीमा १ सय ६६ स्थल र ५ सय ८१ मतदान केन्द्रबाट निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।  धरानमा १ सय ७, इटहरीमा १ सय ११, इनरुवामा ४७, दुहबीमा ४२, वराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोशीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जूमा २५, भोक्राहा नरसिंहमा २८ र हरिनगरामा २८ गरी जम्मा ५ सय ८१ मतदान केन्द्रबाट मतदान हुने कार्यालयले जनाएको छ ।