काठमाडौं / नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड बनाएको  बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकबाट एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो । 

उहाँका अनुसार स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको छ । 

उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने छ । गाउँपालिकाको अध्यक्ष रउपाध्यक्ष तथा नगरपालिकाको प्रमुख, उपप्रमुखको हकमा गाउँ÷नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको  सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने छ ।  उपमहानगर र महानगर प्रमुखको हकमा भने सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने गरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको छ ।