धरान / परीक्षाको लागि अनलाइन फारम भरेका यहाँ स्थित पूुर्वाञ्चल इन्जिीनियरिङ क्याम्पसका ७ जना विद्यार्थीहरुको प्रवेशपत्र नआउदा परीक्षा दिनबाट बञ्चित भएका छन् । बैंकमा पैसा जम्मा गरेर परीक्षाको अनलाइन फारम भरे पनि आफुहरुको प्रवेश पत्र नआएकोले परीक्षाबाट बञ्चित हुनुपरेको उनीहरुले बताएका छन् । 

उनीहरुले परीक्षा दिन नपाउदा उनीहरुको करियर नै डामाडोल हुन्छ । हरेक बर्ष कोटामा अध्ययन गर्न पाइने क्याम्पसमा फेरी अध्ययनका लागि कोटामा पर्नु पर्ने हुन्छ । जीवन नै अन्धकार हुने भए पछि उनीहरु आन्दोलनमा उत्रिएका छन् । 

विहीबार विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । क्याम्पससमेत तोडफेड गरेका छन् । उनीहरुलाई अन्य विद्यार्थीहरुले पनि साथ दिदैं आएका छन् । 

इञ्जिनियरिङ अध्ययन संस्थान(आइओएम)को नियम अनुसार यो बर्ष परीक्षा दिन नपाएका विद्यार्र्थीहरुको एक बर्ष खेर जान्छ भने अर्को बर्ष पनि सिट खाली भएमा मात्र पढ्न पाउछन् । फर्म छुटेको विषयमा क्याम्पसले कुनै सूचना नगर्दा आफुहरु अन्यायमा परेको कम्युटर तेश्रो बर्षमा अध्ययनरत ऋषभ आचार्यले बताउनु भयो ।   

समस्याबारे क्याम्पस र डिन कार्यालयलाई पटक पटक कुरा राख्दा सुनुवाई नभए पछि आन्दोलन गर्नु परेको उहाँले बताउनु भयो  ।

उनीहरुले सिस्टमको खराबीको कारण विद्यार्थीहरुको भविष्य नै अन्योल बनाउने काम भएकोले क्याम्पस प्रशासन र डिन कार्यालयले सच्याएर परीक्षा दिने व्यवस्था गर्न माग गदैं आएका छन् । क्याम्पस प्रशासन र डिन कार्यालयमा बैंक भौचारसहित निवेदन, पत्राचार गरेपनि हाल सम्म सुनुवाई नभएको उनीहरुले बताएका छन् । 

क्याम्पस प्रमुख ओमप्रकास ढकालले ७ जना विद्यार्थीको समस्या देखिएको र समस्या समाधान गर्न डिन कार्यालयमा समन्वय तथा पहल भइरहेको बताउनु भयो ।  आफुहरु डिन कार्यालयको निर्णय पर्खिएर बसेको बताएका छन् । क्याम्पसमा परीक्षा दिने ५ सयउ विद्यार्थीहरु नै आन्दोलनमा उत्रिएर क्यामपस नै ध्यस्त हुने स्थिति आए पछि डिफल्ड एडमिट कार्ड बाटै पनि परीक्षा लिने र डिन कार्यालयमा परीक्षालाई मान्यता दिलाउन लिखित सम्झौता विद्यार्थीहरुसँग गरेर विहीबारको परीक्षा सञ्चालन गरेको प्रमुख ढकालले बताउनु भयो । ‘एडमिट कार्ड डिन कार्यालयले वितरण गर्ने भएकाले त्यसका लागि डिन शशीधर जोशी र परीक्षा सहायक डिन ज्ञानबहादुर थापालाई विद्यार्थीहरुले तिरेको बैक भौचरसहित पठाएको छु ।’–ढकालले भन्नु भयो –‘उनीहरुको भविष्यको सवाल छ । डिन कार्यालय र हामी विद्यार्थीहरु कै काम गर्न जागिर खाएकाले समस्या समाधान गर्नु पर्छ ।’ 

क्याम्पस प्रमुख ढकालको अनुरोधमा विद्यार्थीहरुले आन्दोलन रोकेर परीक्षामा सामेल भएका छन् । विहीबार स्नातक तहको चौथो बर्षका विभिन्न फ्याकल्टीको परीक्षा थियो । १ घण्टा ढिलो गरि परीक्षा सम्पन्न भएको क्याम्पसले जनाएको छ ।