धरान / होम स्टे(घरबास) महासंघ नेपाल प्रदेश १ को दोश्रो अधिवेशनले संखुवासभाका विनोद गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ । 

धरानमा शनिवार भएको अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ समिति बनाएको हो । समितिको उपाध्यक्षमा इलामकी लिलादेवि भट्टराई, सचिवमा धनकुटाका त्रिलोचन घिमिरे र कोषाध्यक्षमा इलामका रुद्र घिमिरे चयन हुनु भएको छ । 

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा १४ वटै जिल्लामा सञ्चालित होम स्टे संचालकहरुको प्रतिनिधित्व रहेको थियो । अध्यक्ष गुरुङका अनुसार प्रदेश १ मा ६७ वटा सामुदायिक र १३ वटा नीजी गरि  ८० वटा होम स्टेरहेका छन् । एक हजार भन्दा बढि घरहरुले घरवास सेवा दिइरहेका छन् । 

प्रदेश १ मा होम स्टे सेवा प्रभावकारी बन्दै गएको छ । धनकुटाको नाम्जे होम स्टे, इलामको श्री अन्तु होम स्टेहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड हुने गरेको छ ।