धरान / धुलिखेल समाज, धरानको सहकार्यमा धरान–१ मा सम्पन्न  स्वास्थ्य क्लिनिकबाट ७१ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परीक्षण गराउनु भएको छ ।  

परिवर्तनकाल लागि सामाजिक अभियानले हरेक महिनाको पहिलो र तेश्रो शनिवार आयोजना गर्ने यो निःशुल्क क्लिनिक धरान–१ स्थित धरान मोडल कलेजमा आयोजना गर्दै आएको थियो । विगतका ३ संस्करणका कार्यक्रमहरु वडा वडामा आयोजना गर्ने अभियान अनुरुप १८ नं. वडा, २ नं. वडामा सम्पन्न भईसकेका छन् । शनिावर  धरान–१ स्थित धुलिखेल समाजको सहकार्यमा आयोजना भएको हो । 

अभियानका अध्यक्ष विष्णु बरालले समुदायमा सामाजिक स्वास्थ्य क्लिनिक निक्कै नै प्रभावकारी र फलदायी बन्दै गएको बताउनु भएको छ । अस्पतालमा लाईन लागेर उपचार गराउन नसक्ने ७० वर्ष भन्दामाथिका बुवाआमाहरुका लागि यो कार्यक्रमले सहजताप्रदान गरेको उहाँले बताउनु भयो । 

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा परीक्षण हुने उक्त सामाजिक क्लिनिकमा विशेष गरि मुटु, रक्तचाप र सुगरको परीक्षण हुने गरेको कार्यक्रमका संयोजक त्रिभुवन बरालले जानकारी दिनु भयो । 

परिवर्तनका लागि सामाजिक अभियानमा आबद्ध मोहन श्रेष्ठ, वर्षा अग्रवाल श्रेष्ठ, भोजराज श्रेष्ठ, त्रिभुवन बराल, जेनिश शाक्य, विजय श्रेष्ठ, निशान नेपाल, हेमचन्द्र ढकाल, राजेन्द्र रिजाल, ऋषिराम भट्टराई, सुष्मन श्रेष्ठ, आशिषराज यादवलगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको उक्त क्लिनिकमा ब्लड प्रेसर जाँच्न र अन्य सहयोगका लागि प्रतिष्ठानकी स्टाफ नर्स निर्मला बास्तोलाले सहयोग गर्नु भएको छ । 

यस्ता प्रभावकारी कार्यक्रमहरुको आयोजनामा सहकार्य गर्न पाएकोमा धुलिखेल समाजका अध्यक्ष युगलकुमार श्रेष्ठले सम्पूर्ण सहयोगी र विशेष गरि डा. प्रशान्त साह र आयोजकलाई आभार व्यक्त गर्नु भयो ।