काठमाडौँ / राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट बुधबार मनोनयनपत्र दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक/अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११ प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ । राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता कायम गरिएको छ ।

 प्रदेश नं १ बाट १२ जनाको मनोनयन दर्ता

 यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं १ मा आज अपराह्न ४ बजेसम्म तीन पार्टीबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ ।
दर्ता गर्ने उम्मेदवारमा वाम गठबन्धनबाट महिला दुई, खुल्ला तीन, दलित एक र अल्पसंख्यकबाट एक गरी सात जना छन् । यस्तै, नेपाली काँग्रेसबाट महिला एक, खुल्ला एक, दलित एक र अल्पसंख्यकबाट एक गरी जम्मा चारजनाले मनोनयनपत्र दर्ता गराएका छन् । 
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (माओवादी केन्द्र) बाट महिला सदस्यमा विना पोखरेल (मोरङ), नेकपा (एमाले)बाट महिला सदस्य नैनकला ओझा (मोरङ), खुल्लाबाट एमालेका हरिचरण शिवाकोटी (झापा), पर्शुराम मेघी गुरुङ (संखुवासभा), खड्गबहादुर बस्नेत (मोरङ) र अल्पसंख्यकमा अगम वान्तवा (इलाम) उम्मेदवार बनेका छन् । 

कांग्रेसबाट खुल्लामा रमेशजंग रायमाझी (मोरङ), महिलामा सरिता प्रसाईं (झापा), दलितबाट विनकुमार विश्वकर्मा (झापा) र अल्पसंख्यकबाट महेश जाजुले सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी परेको छ ।  महिला सदस्यमा माओवादी केन्द्रका विना पोखरेल, एमालेका नैनकला ओझा र कांग्रेसका सरिता प्रसाईंको मात्र उम्मेदवारी परेकाले तीनैजना निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुले माघ १५ गते दावी विरोधपछि प्रमाणपत्र पाउनुहुने छ ।