धरान / २३ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि हुने भएको छ । कोरोना महामारीको कारण गत बर्ष आयोजना हुन सकेको थिएन । यो बर्ष धरान–१६ स्थित रंगशालामा शुरु हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा आयोजक क्लबसहित ८ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनु भयो ।   

 उहाँका अनुसार काठमाण्डौंमा हालै सम्पन्न भएको शहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम सहभागी हुने छन् । भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष राईले जानकारी दिनु भयो ।  

विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेतालाई नगद ५ लाख पुरस्कार राखिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् । ५१ लाख ३२ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । करिव १५ लाख नाफा गर्ने गरि प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ । 

विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि उपमहानगरले १८ लाख रुपैया बजेट विनियोजन गरेको छ । त्यसमध्ये १० लाख पहिलो पुरस्कार र ५ लाख दोस्रो पुरस्कारको छुट्याइएको छ । बाँकी ३ लाख रुपैया धरानको टिम तयारीको लागि खर्च गर्ने गरि उपमहानगरले उपलब्ध गराउने निर्णय भएको क्लबका अध्यक्ष  राईले जानकारी दिनु भयो  

अध्यक्ष राईले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जनाएको छ । उपाधि जित्ने गरि ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने अध्यक्ष राईले बताउनु भयो ।