काठमाडौं  / सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ०७९ साल वैशाख ३० गते  एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । 

 यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। सोमबार पनि मन्त्रिपरिषद् बैठक बस्नुअघि निर्वाचन आयोगका पदाधिकारीसँग सरकारले परामर्श गरेको थियो। स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ ०७९ मा सकिँदै छ। उक्त ऐनअनुसार जनप्रतिनिधिमा निर्वाचित भएको मितिको सातौँ दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था गरिएको छ। वैशाख ३० गते निर्वाचन हुँदा जेठ ६ गतेबाट स्थानीय तहमा नयाँ नेतृत्वले पदवहाली गर्नेछन्।

स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो भौतिक सामग्रीको विवरण

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक भौतिक सामग्रीको विवरण माग गरेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गरेर आवश्यक भवन परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनबारेको विवरण उपलब्ध गराउन आग्रह गरेको हो। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण माग गरेको जानकारी दिएको छ।

आयोगले संविधानको धारा २४७  अनुसार आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्थाअनुसार विवरण माग गरिएको हो । 

निर्वाचन आयोग ऐनमा आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि सरकारको स्वामित्वमा रहेका संस्था वा स्थानीय तह, सार्वजनिक संस्था, सामुदायिक वा निजी विद्यालयको जग्गा भवन वा अन्य जुनसुकै भौतिक साधन पूर्वसूचना दिई आवश्यकताअनुसार प्राप्त गरी प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आयोगले माघ मसान्तभित्र एकीकृत विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।