धरान / सुनसरीको लौकही नजिकै पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा जुद्धा तीन जनाको मृत्यु भएको छ । 

काकडभिट्टाबातट काठमाण्डौं तर्फ जादै गरेको ना ८ ख ८४९३ नम्बरको शुभबिहानी ट्राभल्स र पूर्वतर्फ आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक लौकहीदेखि पुर्व खनिया पुलमा जुद्धा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

काकडभिट्टाबाट १४ जना यात्रु लिएर हिडेको बसमा त्यहाँ आइपुग्दा २७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । प्रतिकुल मौषम, तीब्र गति र साघुरो पुलको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । गाडी जुधे पछि दुर्व गाडीमा आगो लागेको थियो । बसमा च्यापिएर तीन जनाएको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।  मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक  रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते भएका छन् । 

दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । 

उनीहरुको विराटनगरको न्युरो, नोवल  र इनरुवाको जिल्ला अस्पतालमा उपचार भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले जानकारी दिनु भयो ।