काठमाडौं  / सरकारबाट पिसिआर परीक्षण गर्न अनुमति पाएका केही निजी ल्याबले कोरोना संक्रमितलाई नेगेटिभ रिपोर्ट बेचेको पाइएको छ ।  संक्रमण भएको रिपोर्ट आए पनि पैसाका लागि व्यक्तिको चाहनाअनुसार नेगेटिभ रिपोर्ट बनाइदिएर सामाजिक अपराध गर्ने ल्यावहरु राजधानीमा बढेका छन् ।  

कोभिडका बिरामीको उपचारमा सय बेड दिने अस्पतालले पिसिआर ल्याब राख्न सक्ने प्रावधानअनुसार काठमाडौंको नागरिक कम्युनिटी अस्पताललाई पनि अनुमति दिएको थियो । उक्त अस्पतालले एक विदेश जाने व्यक्तिलाई शुरुमा संक्रमण भएको रिर्पोट दिए पनि पछि पैसा लिएर संक्रमण नभएको रिर्पोट दिएको पाइएको छ । 

गत बिहीबार मात्रै भक्तपुरको नागरिक कम्युनिटी अस्पतालले धनुषाका शिवकुमार मण्डललाई संक्रमण हुँदाहुँदै पनि नेगेटिभ रिपोर्ट दिएको पुष्टि भएको हो ।  वैदेशिक रोजगारीमा जान नेगेटिभ रिपोर्ट चाहिएपछि मण्डललाई अस्पतालको ल्याबले नेगेटिभ नै रिपोर्ट बनाइदिएको थियो । शुरुको पोजिेटिभ रिर्पोट लिएर विमानस्थल पुगेका मण्डललाई त्यहाँबाट फर्काए पछि उनी पुन त्यही अस्पताल पुगेर नेगेटिभ रिर्पोट लिएर पुगेका थिए ।  दुवै रिपोर्टमा मिति, समयलगायत सबै एउटै छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झा पोजेटिभलाई नेगेटिभ रिपोर्ट दिनु गम्भीर अपराध भएको बताउनु भएको छ । यस विषयमा अनुसन्धान गरिने उहाँले बताउनु भयो ।  

 पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा सहिद गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवलाई गत मंसिरमा कारवाही नै गरिएको थियो । 

विदेश जाने व्यक्तिको परीक्षणमा संक्रमण देखिए रकम लिएर नेगेटिभ रिपोर्ट बनाइदिने गिरोह नै राजधानीमा रहेको बताइएको छ । 

सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालिले भाइरस जाँच नै नगरी संक्रमण नभएको भनेर रिपोर्ट दिने गरेको भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत ८ वैशाखमा ल्याब सञ्चालन अनुमति नै खारेज गरेको थियो ।