धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता गर्ने भएको छ । सँगसँगै धरानमा आर्थिक सम्मेलन(इकोनोमिक समिट)पनि गरिने भएको छ ।

आइतबार धरानस्थिति गल्फ कोर्समा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताउनु भयो । 

उहाँले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको जानकारी गराउँदै भन्नु भयो,“उद्योग संगठनसँगै मिलेर जसरी इकोनोमिक समीट आयोजना गरिएको छ । त्यसले यो क्षेत्रकै लागि सहयोग पुग्नेछ । हामी सबैको मेहनतले गर्दा बाह्रखरीले हामीलाई विश्वास गर्नुभयो । उद्योग संगठनमा आर्थिक सम्मेलन गर्नेछौँ । हामीले प्रदेशभरका निजी क्षेत्रका मुद्दा उठान गर्नेछौँ । सोमबारदेखि राउन्ड टेबल आयोजना गर्नेछौँ । त्यसलाई लिपिबद्ध गरेर समीटमा प्रस्तुत गर्नेछौँ । हामीे गफमात्रै नगरेर नीतिमा सहयोग पुग्नेगरी अघि बढ्नेछौँ ।”

पूर्व अर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताउनु भयो । 

इकोनोमिक समीटमा कार्यपत्र प्रस्तुतीका सम्बन्धमा उहाँले जानकारी गराउँदै यस कार्यक्रमले अर्थतन्त्रको रुपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताउनु भयो । 

“आर्थिक गतिविधिमा सीमित व्यक्तिको नियन्त्रणमात्रै रहनुहुँदैन भन्ने लाग्छ,” खनालले भन्नु भयो । “बाह्रखरीले गरेका कार्यक्रमबाट निकालिएका निष्कर्षले नीति निर्माणमा सहयोग पुगोस् भनेर एक वर्ष बाह्रखरीले रिपोर्टिङ गर्ने प्रतिवद्धता पनि जनाएको छ ।”

“अब राजनीतिबाट समृद्धि सम्भव भएन । जसले जहाँ सक्छ त्यहाँ लाभ लिने प्रवृत्ति बढेको छ । यो समस्या निजी क्षेत्रमा पनि छ । धन संग्रह आफूले मात्रै गर्ने प्रवृत्ति देखिएको छ,” उहाँले भन्नु भन्नु भयो, “त्यसले समष्टिगतरुपमा विकास हुँदो रहेनछ । अब गर्ने भनेको निजी क्षेत्रले नै हो । अबको समृद्धि युवा उद्यमशिलताबाटै हुने हो । यो उद्यमीको केन्द्र पनि हो । तर अब निष्ठावान पौरखी उद्यमी होस् लुटतन्त्रमा विश्वास नगरोस् । नवीन सोचमा आधारित भएर गर्ने हो भने सफलता प्राप्त गर्न सकिनेछ ।”

त्यसैगरी युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले यस क्षेत्र उद्यमीको केन्द्र रहेको बताउँदै यो कार्यक्रम समृद्धिको इन्जिन भएको बताउनु भयो । 

“यो समृद्धिको इन्जिन हो,” उहाँले भन्नु भयोे, “प्रदेश एक धेरै अघिदेखि नै उद्यमीको लागि राम्रो ठाउँ हो । अहिले आयोजना गर्न लागिएको गल्फसँगै युवा उद्यमीका अभियान लिएर जसरी हिँड्न लागिएको छ । त्यसले ठूलो सहयोग पु¥याउनेछ ।”

व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताउनु भयो । 

“बाह्रखरीले सगरमाथाको काखमा गल्फ आयोजना गर्ने भन्दा हामीलाई अनौठो लागेको थियो । यो कार्यक्रम गर्नु नै ठूलो सफलता हो । एउटा न्युज मिडियाले आफ्नो कामबाहेक खेललाई आधार बनाएर एउटा प्रदेशको समृद्धिमा टेवा पु¥याउनका लागि गरेको सहयोगको जति प्रशंसा गरे पनि पुग्दैन,” उहाँले भन्नु भयो । 

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराउनु भयो । 

उहाँले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताउनु भयो । 

उहाँले विभिन्न विधामा पुरस्कार दिइने बताउनु भयो । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षक भनेकै गोल्डेन बल पाउँछ । यो संसारमा कहिँ पनि राखेको पाइँदैन । त्यसका लागि बाह्रखरी मिडियालाई धन्यवाद दिन चाहन्छु । यसपल्ट धरानमा खेलाडीहरुले मनोरञ्जन पाउनुहुनेछ भन्ने लागेको छ ।

त्यसैगरी धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको बताउनु भयो । “यो गल्फ कोर्स ब्रिटिशहरुले नै सुरु गरेका थिए । सन् १९९० तिर यहाँ छाडेर पोखरामा सिफ्ट भएकाले त्यसपछि हामीहरुले सञ्चालन गर्दै आएका छौँ ।”–उहाँले भन्नु भयो ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

‘इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना गर्दैछोँ भने विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट आयोजना गरेका छौँ ।’– उहाँले भन्नु भयो –‘हामीले यस प्रदेशका विभिन्न पाँच स्थानमा राउन्ड टेबल आयोजना गरेका छौँ । त्यो रिपोर्टाजपछि हामीले बाह्रखरी मिडियामा समाचार प्रकाशित गर्नेछौँ भने त्यसपछि कार्यक्रममा सहजीकरणका लागि सहज हुनेछ ।” 

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै यस कार्यक्रम सफलताका लागि पत्रकारहरुको सहयोग आवश्यक रहेको बताउनु भयो ।